काठमाडौँ । २०८१ सालको बैशाखदेखि चैत्रसम्मको अवधिमा राष्ट्रिय प्रसारण प्रणालीमा ४५६ मेगावाट विद्युत् जोडिएको छ । एक वर्षको अवधिमा सो परिमाणको विद्युत् प्रणालीमा थपिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार एक वर्षमा २० आयोजनाबाट उत्पादन भएको ४५६.४५ मेगावाट विद्युत् प्रणालीमा थपिएको छ । जसमा २ सौर्य आयाजना रहेका छन् भने बाँकी जलविद्युत् आयोजना हुन् ।
राष्ट्रिय गौरवका परियोजनाहरूको निरीक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर काम गर्दा विद्युत् क्षेत्रको विकासले तिव्रता पाएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले जानकारी दिए । उनका अनुसार अझै अहिले २० आयोजना उत्पादन सुरु गर्ने चरणमा पुगेका छन् । यस्ता क्रियाकलापले साझा प्रयासको सकारात्मक उपलब्धि रहेको र जसले देशको ऊर्जा भविष्यलाई अझ उज्यालो बनाउने मन्त्री खड्काले बताए ।
यो वर्ष ऊर्जा क्षेत्रको विकासका लागि उपलब्धी मुलुक रहेको छ । यो वर्ष वर्षायाममा बाढी र पहिरोले जनजीवन प्रभावित हुने जोखिमलाई ध्यानमा राख्दै मौसमको पूर्व सूचना प्रणालीलाई अझ प्रभावकारी बनाउन मौसम विज्ञान विभागले तयारी थालेको उनले जानकारी दिए । जसले समयमै सूचना प्रवाह गरी सम्भावित क्षतिहरू न्यूनिकरण हुनेछ ।
यसैगरी, साना जलविद्युत् आयोजनासम्बन्धी बढ्दो नीतिगत समस्याहरूलाई समेटेर तीव्र रुपमा समाधान खोज्ने काम अघि बढाइएको छ । नीतिलाई सरल र व्यवहारिक बनाउँदै सेवा ग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गराउने लक्ष्यसहित काम भइरहेको छ ।
११३ वर्षमा ३४०४ मेगावाट विद्युत्
नेपालमा जलविद्युत् उत्पादन सुरु भएको ११३ वर्षको अवधिमा ३४०४ मेगावाट विद्युत् उत्पादन भइसकेको छ । यसैगरी, करिब ४ हजार मेगावाटका आयोजना निर्माणाधीन अवस्थामा छन भने करिब ४ हजार ३०० मेगावाटका आयोजना विद्युत् खरिद सम्झौता (पिपिए)को पर्खाइमा रहेका छन् ।
हालसम्म सौर्य विद्युत्, थर्मल पावर, चिनी उद्योगहरूबाट सो परिमाणको विद्युत् उत्पादन भएको हो । जसमा १६९ जलविद्युत् आयोजनाबाट ३३२४ मेगावाट, १८ लघुजलविद्युतबाट १४ मेगावाट, २१ सौर्य विद्युत् केन्द्रबाट १०६ मेगावाट, २ वटा डिजेल प्लान्टबाट ५३ मेगावाट र २ वटा चिनी उद्योगबाट ६ मेगावाट उत्पादन भइरहेको प्राधिकरणको तथ्यांकमा छ ।