काठमाडाैँ । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बन्द हुने भएको छ । साढे ३ महिनाअघि देखि स्थगित एमसीसी अन्तर्गतका सबै परियोजनाहरु केही महिनाभित्रै बन्द हुने भएको छ ।
अमेरिकी सरकारले २०८१ फागुन २ गते इमेलमार्फत अमेरिकी सरकारले एमसीसी अन्तर्गतका परियोजना स्थगित गर्न पत्राचा गरेको थियो ।
अमेरिकी सरकारी दक्षता विभाग (डज) ले मंगलबार सबै कर्मचारीलाई इमेलमार्फत एमसीसी अनुदान सहयोग बन्द हुने जानकारी दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । एमसीसी परियोजना अन्तर्गत नेपालमा अघि बढाइएका सडक र ऊर्जा क्षेत्रका परियोजनाहरू सबै बन्द हुनेछ ।
नेपाल सरकार र यस निकायबीच २०७४ भदौ २९ गते एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । अर्थमन्त्रालयका अनुसार हालसम्म ८.४६ प्रतिशत काम पूरा छ। चालु आर्थिक वर्षमा कुल ९ अर्ब ९० करोड ८२ लाख रुपैयाँ बजेट विनियोजन भएको यस परियोजनामा पुस मसान्तसम्म ८३ करोड ८० लाख रुपैयाँ खर्च भएको छ ।
एमसीसीको नेपालस्थित कार्यालयका अनुसार हालसम्म १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन ठेक्का सम्झौता भइसकेको छ भने ३७९ किलोमिटर प्रसारण लाइनका लागि यस वर्ष बोलपत्र आव्हान गर्ने तयारी भइरहेको थियो ।
यस्तै, १० जिल्लामा ८५६ वटा प्रसारण टावरका जग निर्माणका लागि जग्गा प्राप्ति, दुई वर्षे जिविकोपार्जन कार्यक्रममार्फत् २७० जनालाई तालिम, ९ जिल्लामा मुआब्जा निर्धारण वितरण समिति गठन, धादिङ, मकवानपुर र नवलपरासीमा मुआब्जा निर्धारण र ९ जिल्लामा पहिलो भरणको रुख गणना कार्य सम्पन्न भएको बताइएको छ।
अमेरिकी अनुदानअन्तर्गत एमसीसीले नेपालमा विद्युत् र सडक पूर्वाधारमा लगानी गरिरहेको थियो । अमेरिकाको ५०० मिलिअन डलर र नेपालको १९७ मिलिअन डलर खर्च गरेर ३०० किलोमिटर विद्युत् प्रसारण लाइन र सबस्टेशन निर्माण अनि ७७ किलोमिटर सडकको स्तरोन्नति र मर्मतको लक्ष्य राखिएको थियो ।