काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण हुने भएको छ । हाइड्रो सर्पोट प्रालिले निर्माण गर्न लागेको उक्त आयोजनाको सुरुको क्षमता ५३.५३ मेगावाट भनिएपनि पछि विस्तार गरेर ६६.३ मेगावाट पुर्याइएको हो ।
कम्पनीको आयोजना निर्माणका लागि पूरक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनसहित सार्वजनिक सुनुवाई कार्यक्रम गरेको थियो । जसमा स्थानीयहरूले तातोपानीको मुहानामा असर नपुग्ने गरी आयोजना अघि बढाउन सुझाएका थिए । स्थानीयहरूले कालीगण्डकी किनारमा रहेको तातोपानीको मुहान जलविद्युत् आयोजनाका कारण सुक्ने भन्दै चिक्ता व्यक्त गरेका थिए ।
तातोपानीको मुहान सुकेमा आर्थिक, सामाजिक तथा वातावरणीय हिसाबले पनि प्रभाव पर्ने भएकोले स्थानीयहरूले यसतर्फ ध्यानाकर्षण गराएका हुन् । तातोपानीका स्थानीय अनिल हिराचनले विगतमा कालीगण्डकीको सतह अनुसार तातोपानीको मुहानको स्थान फेरिएको बताउँदै तातोपानीको मुलको भविष्य नै अन्यौल हुने तर्फ चिन्ता व्यक्त गरे । उनले वर्षौभरी नै १० प्रतिशत पानी छाड्नुपर्ने बताउँदै तातोपानीमा असर नपर्नेगरी अघि बढ्न अनुरोध गरे ।
अन्नपूर्ण गाउँपालिका २ का वडा अध्यक्ष ओम फगामीले अन्नपूर्ण क्षेत्रमा अन्य जलविद्युत निर्माणको क्रममा विस्फोटक प्रयोग गरेर सुरुङ बनाउँदा कम्पनका कारणले पानीको मुहान सुकेको बताए । उनले कालीगण्डकी नदी नै रहेन भने यहाँको बसोबास र सभ्यता पनि नरहने चिन्ता व्यक्त गरे ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका हाइड्रो सपोर्ट प्रा.ली.का अध्यक्ष चन्द्रप्रसाद ढकालले तातोपानीको मुहान बचाउँदै स्थानीय जनजीवनमा कुनै पनि प्रभाव नपर्ने गरी आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।
निर्माण लागत १२ अर्ब ९३ करोड
जलविद्युत आयोजना निर्माणको क्रममा सामाजिक उत्तरदायित्व तथा वातावरणीय प्रभाव न्यूनीकरणका लागि ९ करोड ७० लाख २४ हजार रुपैयाँ विनियोजन हुने जनाइएको छ । आयोजना निर्माण सुरु भएको ४ वर्षभित्र सम्पन्न हुनेछ । आयोजनाको निर्माण सम्पन्न गर्न १२ अर्ब ९३ करोड ६४ लाख ७५ हजार रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनाको विद्युतगृह भुमिगत हुनेछ । आयोजना निर्माण गर्दा अन्नपूर्ण गाउँपालिकाको २, ३, ४, ५ र ६ नम्बर वडा प्रभावित हुने छन् । आयोजनाको ४३१९ मिटर लामो सुरुङ रहने छ । आयोजना निर्माण पूरा भएपछि उत्पादीत विद्युत् अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा विद्युत जडान हुनेछ ।