Monday, July 14, 2025
spot_img

एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) का प्रमुख कार्यकारी अधिकृत प्रजेश विक्रम थापाबीच आर्थिक वर्ष २०८२/८३ को लागि कार्यसम्पादन करार सम्पन्न भएको छ ।

कम्पनीले चालू आ.व.का लागि राखेका मुख्य कार्यसूची, उपलब्धि र नतिजामूलक सूचकहरूका आधारमा यो करार गरिएको ऊर्जासचिव आचार्यले बताए ।

आइतवार एक समारोहबीच ऊर्जासचिव आचार्यले कम्पनीका सीईओ थापासँग कार्यसम्पादन सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा कम्पनीका उच्च अधिकारीहरू तथा मन्त्रालयका सह सचिवहरूको उपस्थिति रहेको थियो ।

कार्यसम्पादन करारमा कम्पनीका नीति तथा योजना, लगानी संरचना, परियोजना कार्यान्वयन अवस्था, आर्थिक व्यवस्थापन, संस्था सुदृढीकरण र पारदर्शितालाई विशेष प्राथमिकता दिइएको छ। सम्झौताअनुसार एचआईडीसीएलले जलविद्युत् क्षेत्रमा लगानी विस्तार, सार्वजनिक-निजी साझेदारीमा परियोजना प्रवर्द्धन, आन्तरिक क्षमता विकास, तथा वित्तीय पारदर्शिता कायम गर्दै सञ्चालन कार्य सम्पादन गर्नु पर्नेछ ।

त्यस अवसरमा ऊर्जा सचिव सुरेश आचार्यले जलविद्युत् विकासमा सरकारको दीर्घकालीन योजना कार्यान्वयनमा एचआईडीसीएलको भूमिका अझ प्रभावकारी बनाउन आवश्यक रहेको बताए। ‘लगानीको वातावरण सुदृढ पार्न, सार्वजनिक विश्वास आर्जन गर्न र साना-ठूला सबै आकारका आयोजनाको वित्तीय व्यवस्थापनमा पारदर्शिता कायम गर्न कार्यसम्पादन करार महत्त्वपूर्ण उपकरण हो’ उनले भने ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत थापाले कार्यसम्पादन करारलाई संस्थागत उत्तरदायित्व, परिणाममुखी नेतृत्व र पारदर्शिताको आधार मान्दै सम्झौताअनुसारका लक्ष्य प्राप्तिमा आफू पूर्णतः प्रतिबद्ध रहेको स्पष्ट पारे। उनले भने, ‘हामी हाम्रो संस्थालाई मुलुकको जलविद्युत् लगानीको मेरुदण्डको रूपमा अघि बढाउन चाहन्छौँ, र त्यसका लागि नीति, परिणाम र निष्पक्षता हाम्रो आधार हुनेछ ।’

कार्यसम्पादन करारलाई सार्वजनिक संस्थाहरूमा सुशासन, पारदर्शिता र नतिजामूलक कार्यशैली विकासका लागि प्रभावकारी अभ्यासको रूपमा हेरिन्छ। यसले संस्था र नेतृत्व दुवैको जवाफदेहिता र भूमिकामा अझ स्पष्टता ल्याउने विश्वास गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img