काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड र ६०७.०६३ मेगावाटका ५ जलविद्युत् आयोजना प्रवर्द्धकहरूसँग ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएको छ । ग्रिड कम्पनी र ४४० मेगावाटको तिला १, ७२ मेगावाटको मालुमेला सेती नदी, ५४ मेगावाटको महाकाली सेती क्यासकेड, ३१.९२ मेगावाटको अपर मेवा खोला ‘ए’ र ९.१४३ मेगावाटको सुपर दरौँदीबीच सम्झौता भएको हो ।
तिला १ आयोजना एसशी पावर कम्पनी प्रालिले, मालुमेला सेती नदी आयोजना माता मालिका इनर्जी मल्टिपल प्रालिले, अप्पर मेवा खोला सुर्य होल्डिङ प्रालिले, महाकाली सेती क्यासकेड सुर्मा सरोबार हाइड्रो पावर प्रा.लिले र सुपर दरौँदी हिमजल हाइड्रो पावर प्रा.लिले निर्माण गर्न लागेकाे हाे ।

सम्झौता अनुसार तिलाको विद्य्त् प्रस्तावित ४०० केभी डबल सर्किट कर्णाली कोरिडोर प्रसारण लाइन अन्तर्गतको फुकोट सबस्टेसनमा जोडिनेछ । यसैगरी, मालुमेला सेती नदी र महाकाली सेती क्यासडेकको विद्युत् ४०० केभी डबल सर्किट पश्चिम सेती कोरिडोर प्रसारण लाइनको चैनपुर सबस्टेसनमा जोडिनेछ ।

सम्झौतामा ग्रिड कम्पनीका तर्फ प्रमुख कार्यकारी अधिकृत ई.सागर श्रेष्ठ र एसी पावरको तर्फबाट इमानसिंह चेम्जोङ, सुर्मा सरोबरको तर्फबाट करणराज अवस्थि, माता मालिकाको तर्फबाट अविशेक श्रेष्ठ, सुर्य होल्डिङको चर्फबाट मोहन बिक्रम कार्की, हिमजल हाइड्रोपावरको तर्फबाट अर्जुनकुमार सुनुवारले हस्ताक्षर गरे ।

अप्पर मेवा खोला ‘ए’ को बिजुली १३२ केभी मेवा–ढुंगेसाँघु डबल सर्किट प्रसारण लाइनको मेवा सबस्टेसनमा र सुपर दरौँदीको विद्युत् १३२ केभी डबल सर्किट प्रसारण लाइन अन्तर्गतको केराबारी सबस्टेसमा जोडिनेछ ।
कार्यक्रममा विद्युत् नियमन आयोगका अध्यक्ष डा.रामप्रसाद धितालले प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउन खुला पहुँचको व्यवस्था गर्न लागेको जानकारी दिए ।

समारोहमा मन्त्री दिपक खड्काले सम्बोधन गर्दै उक्त सम्झौतासँग सम्बन्धित विद्युत क्षेत्रको महत्व र निजी क्षेत्रको भूमिकाबारे महत्वपूर्ण धारणा राखे । उनले भने, “ऊर्जा क्षेत्रको सही प्रवर्द्धन र लगानी व्यवस्थापनको अभावले नेपालको समृद्धिको मार्गमा ठूलो अवरोध पुर्याएको छ। यसप्रकारका सम्झौताले मात्र हामीलाई ऊर्जा क्षेत्रमा आवश्यक सुधार ल्याउन मद्दत पुर्याउनेछ।”
समारोहमा ऊर्जामन्त्री दिपक खड्काले ३० वर्षका अवधिमा नेपालको ऊर्जा क्षेत्रको प्रगति र यसमा भएको अवरोधलाई चर्चा गर्दै भने, “नेपालले भर्खरै केही प्रगति गरेको भए पनि, अहिले पनि हामीले चीन र भारतसँगको ऊर्जा क्षेत्रमा तुलना गर्दा चमत्कारिक प्रगति गर्न नसकेको देखिन्छ। समयमै ऊर्जा योजनाहरू कार्यान्वयन नगर्दा नेपाल पछाडि परेको छ।”

“ऊर्जा केवल घरको बत्ती बाल्नका लागि मात्र होइन, समग्र राष्ट्रको आर्थिक र सामाजिक विकासका लागि आवश्यक छ”उनले थप भने । मन्त्री खड्काले अब आगामी दिनमा ऊर्जा क्षेत्रमा नयाँ कार्यनीति र लगानी वातावरण सिर्जना गर्न सरकारी र निजी क्षेत्रको सहकार्यमा काम गर्नुपर्ने आवश्यकता औँल्याए।
कार्यक्रममा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका अध्यक्ष सागर श्रेष्ठले प्रसारण लाइन निर्माणको लागि वित्तीय व्यवस्थापनमा समस्या भईरहेको बताए । उनले कम्पनीमा लगानी जुटाउनको लागि विभिन्न मोडलमा छलफल भई विभिन्न संस्थासँग सहकार्यको तयारी भइरहेको उल्लेख गरे । कम्पनीले निजी क्षेत्रसँग मिलेर लगानी जुटाउने काम गरिरहेको र निजी क्षेत्रले लगानीको लागि प्रतिफलको ग्यारेन्टी खोज्ने भएकोले ह्विलीङ चार्ज लगायतका विषय छिटो टुंगीनु पर्ने उल्लेख गरे ।