काठमाडौँ । ताप्लेजुङको मेवा खोलामा निर्माणाधीन ५० मेगावाटको मेवा खाला जलविद्युत् आयोजनाको काम ७५ प्रतिशत पूरा भएको छ । २०७८ पुसदेखि निर्माण सुरु भएको आयोजनाको काम तिव्र गतिमा अघि बढेको हो ।
युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले २ वर्षअघिदेखि निर्माण गरेको आयोजनाको काम आगामी २०८१ असोजभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, सुरुङ, विद्युतगृह प्रसारण लाइन लगायत सबै संरचनाको काम एक साथ भइरहेको छ ।
आयोजनाको सुरुङको काम साउथ एसियन इन्फ्रास्ट्रक्चर कम्पनीले गरिरहेको छ । आयोजनामा ५ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ । सिभिलतर्फ बाँध र विद्युतगृहको निर्माणका लागि अर्को ठेकेदार कम्पनीले गरिरहेको छ ।
आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोर प्रसारण लाइनको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ । विद्युतगृहदेखि ढुंगेसाँघु सबस्टेसनसम्म ७ किलोमिटर प्रसारण लाइन कम्पनीले नै निर्माण गरिरहेको छ । आयोजना सम्पन्न हुँदा हिउँदमा ९७.४२४ गिगावाट घण्टा र बर्खामा २०५.५८७ गिगावाट घण्टा गरी कूल ३०३.०११ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
आयोजना सम्पन्न गर्न ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । कूल लागतको ७५ प्रतिशत (७ अर्ब रुपैयाँ) बैंकको ऋण लगानी हुनेछ । २५ प्रतिशत हुन आउने २ अर्ब रुपैयाँ स्वपुँजी लगानी हुनेछ । आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा, नेपाल, नेपाल इन्फ्रास्ट्रक्चर, सिद्धार्थ, नेपाल एसबिआई र सिभिल गरी ८ बैंकले ऋण लगानी गरेका छन् ।
यो आयोजना सरकारले प्रतिस्पर्धा गराएर निजी क्षेत्रलाई निर्माण गर्न दिएका ‘सुपर सिक्स’ आयोजना मध्येको एक हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । यसका लागि सिटीजन्स क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।