काठमाडौँ । देशभर हालसम्म ४ लाख ५६ हजार ७६६ घरायसी बायोग्यास प्लान्ट जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र(एईपीसी) ले वैकल्पिक ऊर्जाको उपयोगलाई प्रोत्साहन गर्न बायोग्यास प्लान जडान गरेको हो ।
केन्द्रले ३७८ वटा संस्थागत, शहरी तथा व्यवसायिक बायोग्यास प्रणाली पनि स्थापना गरिएको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले बताए । केन्द्रका अनुसार घरायसी बायोग्यासले ग्रामीण क्षेत्रमा दिगो ऊर्जाको पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
बायोग्यास प्रविधिबाट खाना पकाउने, तातो पानी तताउने, र सानो स्तरको बिजुली उत्पादनमा समेत सहयोग पुगेको छ । यसले दाउरा र एलपी ग्यासमा निर्भरता घटाउँदै वायुमण्डलीय प्रदूषण कम गर्न योगदान पुर्याएको छ ।
वैकल्पिक ऊर्जाको उपयोगलाई प्रोत्साहन गर्न केन्द्रले पछिल्ला वर्षहरूमा शहरी क्षेत्रमा पनि बायोग्यास प्रणाली विस्तारका पहल गरेको छ । उद्योग, विद्यालय, अस्पताल, तथा होटल–रेस्टुराँजस्ता व्यवसायिक क्षेत्रहरूमा समेत संस्थागत बायोग्यासको प्रयोग बढ्दै गएको छ ।
एईपीसीका अनुसार बायोग्यास प्रविधि विस्तारसँगै ग्रामीण परिवारका महिलामाथिको श्रमभार कम भएको छ भने कृषिमा प्रयोग हुने जैविक मलको उत्पादनमा वृद्धि भएको छ ।
सरकारले दिगो ऊर्जा विकास रणनीतिअन्तर्गत आगामी वर्षहरूमा थप बायोग्यास प्लान्ट विस्तार गर्ने र स्वच्छ ऊर्जा उत्पादनमा लगानी बढाउने नीति लिएको छ ।








