Saturday, December 6, 2025
spot_img

दाना खोला जलविद्युत्: इलेक्ट्रो-मेकानिकलकाे काम फ्लोभेल इन्डियाले गर्ने

spot_img

Share

spot_img

काठमाडाैँ । मनाङमा निर्माण भइरहेको ८३.२५ मेगावाट क्षमताको दाना खोला जलविद्युत् आयोजनाको इलेक्ट्रो–मेकानिकल पकेट अब भारतीय कम्पनी फ्लोभेल इन्डिया प्रालिले सम्हाल्ने भएको छ । लालुपाते हाइड्रोपावर कम्पनीका कार्यकारी अध्यक्ष मोहनकुमार डाँगी र फ्लोभेलका कार्यकारी निर्देशक गौतम कारबीच कात्तिक २७ गते भएको सम्झौतापछिको यो महत्वपूर्ण मोडले आयोजनालाई नयाँ चरणमा प्रवेश गराएको छ ।

डाँगीका अनुसार फ्लोभेलको प्रतिस्पर्धी मूल्य, स्वीकार्य प्राविधिक प्रस्ताव, करिब ४० प्रतिशत उपकरण आफ्नै फ्याक्ट्रीमा उत्पादन क्षमता तथा ५ दशक लामो अनुभवले कम्पनीलाई छान्न विशेष आधार बने। ‘हाइ–हेड आयोजनामा समेत विश्वसनीयता देखाएको फ्लोभेलले दाना खोलामा पनि समयमै काम पूरा गर्नेछ,’  उनले विश्वास व्यक्त गरे।

फ्लोभेल इन्डियाका निर्देशक कारले नेपालमा कम्पनीले बनाइराखेको प्रतिष्ठा अझै सुदृढ हुने बताए । ‘संसारभर ५ हजार मेगावाटभन्दा बढी परियोजनामा काम गरिसकेका अनुभवले हामीलाई दायित्व पूरा गर्न प्रेरित गर्छ,’  उनले भने, ‘नेपालको बढ्दो जलविद्युत् बजार हाम्रो लागि अवसर पनि हो र जिम्मेवारी पनि ।’ 

इपान अध्यक्ष गणेश कार्कीले पनि विगतका कामले फ्लोभेलप्रति भरोसा जगाएको उल्लेख गर्दै दाना खोलामा कम्पनीले फेरि नै उत्कृष्टता देखाउने अपेक्षा व्यक्त गरे । फ्लोभेलका नेपाल प्रतिनिधि रञ्जिल बस्नेतले निजी क्षेत्रद्वारा निर्माण हुने आयोजनामाथि दीर्घकालीन जिम्मेवारी रहने भन्दै गुणस्तरमा कुनै सम्झौता नहुने बताए ।

इलेक्ट्रो–मेकानिकल कार्यका लागि १० कम्पनीले आवेदन बुझाएका थिए । डब्लूकेभी जर्मनी, एन्ड्रिज हाइड्रो इन्डिया, ट्रोयर इटली, भोइथ जर्मनी, ग्लोबल अष्ट्रिया र फ्लोभेल ‘प्रि–क्वालिफाइड’ सूचीमा परेपछि विस्तृत प्रस्ताव माग गरिएको थियो । प्राविधिक तथा आर्थिक मूल्याङ्कनमा सबैभन्दा उच्च अंक ल्याउँदै फ्लोभेल ठेकेदारकाे रूपमा छनाैट भएकाे जनाइएकाे छ ।

सम्झौता अनुसार कम्पनीले १०११ मिटर उचाइको दाना खोलामा उपकरण डिजाइन, उत्पादन, ढुवानी, बिमा, जडानदेखि परीक्षणसम्मका सम्पूर्ण काम गर्नेछ। सुरुमा ४९.९५ मेगावाट रहेको क्षमता विस्तार गरी ८३.२५ मेगावाट पुर्‍याइएको आयोजनाबाट वार्षिक ३०२.२७ गिगावाट घन्टा विद्युत् उत्पादन हुने अनुमान छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img