काठमाडाैँ । गोरखा जिल्लामा बूढीगण्डकी नदी प्रणालीमा आधारित दुई ठूला जलविद्युत् आयोजना निर्माणको तयारी तीव्र पारिएको छ । नौलो नेपाल हाइड्रो इलेक्ट्रिक कम्पनी प्रालिले बूढीगण्डकी ‘क’ र बूढीगण्डकी ‘ख’ नामका यी आयोजनालाई प्रवर्द्धन गर्ने भएको हो ।
१०३.४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ आयोजना करिब ३१ अर्ब ३२ करोड रुपैयाँ लागतमा निर्माण गर्ने योजना छ । धार्चे गाउँपालिका–३ स्थित लुस्याङ क्षेत्रमा बाँध निर्माण गरी करिब चार किलोमिटर लामो सुरुङमार्फत पानी माछाखोलामा विद्युत् गृहमार्फत विद्युत उत्पादन गरिनेछ ।
रन अफ द रिभर प्रविधिमा आधारित यस आयोजनामा १११ मिटरको हेड प्रयोग गरी विद्युत् उत्पादन गरिनेछ । यसबाट उत्पादन भएको विद्युत् १२.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत बूढीगण्डकी ‘ख’ आयोजनामा जोडिनेछ ।
यसैगरी २२६ मेगावाट क्षमताको बूढीगण्डकी ‘ख’ आयोजना करिब ५६ अर्ब ९९ करोड रुपैयाँ लागतमा निर्माण हुने कम्पनीको योजना छ । धार्चे गाउँपालिका–७ को खानीबेंसीमा बाँध निर्माण गरी ९.५ किलोमिटर लामो सुरुङमार्फत पानी सोतीस्थित विद्युत् गृहमा पुर्याइनेछ । यो आयोजना पनि रन अफ द रिभर प्रविधिमा आधारित रहने र करिब १९७.९७ मिटर हेडबाट विद्युत् उत्पादन गरिनेछ ।
कम्पनीका अनुसार दुवै आयोजनाको वातावरणीय प्रभाव अध्ययन (ईआईए) तथा विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भइसकेको छ । भूकम्पअघि गरिएको सर्वेक्षणपछि भू–भौतिक संरचनामा आएको परिवर्तनलाई समेट्दै अहिले अन्तिम चरणको सर्वेक्षण कार्य भइरहेको छ । सबै प्रक्रिया पूरा भएपछि आउँदो सुक्खायामबाट निर्माण कार्य सुरु गर्ने तयारी गरिएको छ ।
यी दुई आयोजनाबाट उत्पादन हुने ३२९.४ मेगावाट ऊर्जा करिब १८.५ किलोमिटर दूरीमा रहेको धादिङ जिल्लाको लापा सवस्टेशनमा जोडिनेछ । आयोजनाहरू सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ।








