Tuesday, April 21, 2026
spot_img

समृद्ध नेपालका लागि नवीकरणीय ऊर्जामा अन्तर्राष्ट्रिय सहकार्य

spot_img

Share

spot_img

काठमाडाैँ । संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा ११ जनवरी २०२६ बाट International Renewable Energy Agency (IRENA) को १६औं महासभा औपचारिक रूपमा सुरु भएको छ । “Powering Humanity: Renewable Energy for Shared Prosperity” भन्ने मूल नाराका साथ आयोजना भएको उक्त महासभामा विश्वका करिब १७१ राष्ट्रका १,५०० भन्दा बढी प्रतिनिधिहरू सहभागी छन् ।

महासभामा नेपालका तर्फबाट संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तथा IRENA का लागि स्थायी प्रतिनिधि महामहिम तेजबहादुर क्षेत्रीको नेतृत्वमा चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलले सक्रिय सहभागिता जनाएको छ । प्रतिनिधिमण्डलमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (AEPC) का कार्यकारी निर्देशक नवराज ढकाल, नेपाली राजदूतावास अबुधाबीका काउन्सेलर तथा उपनियोग प्रमुख र प्रथम सचिव सहभागी छन् ।

महासभालाई सम्बोधन गर्दै AEPC का कार्यकारी निर्देशक नवराज ढकालले नेपालको ऊर्जा विकास मार्गचित्र स्पष्ट पारे । उनका अनुसार सन् २०३५ सम्म नेपालले विद्युत उत्पादन क्षमता २८,५०० मेगावाट पुर्‍याउने, प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक १,५०० किलोवाट–घण्टा पुर्‍याउने तथा १५,००० मेगावाट विद्युत निर्यात गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ ।

उनले नवीकरणीय ऊर्जा विकासका यी लक्ष्य हासिल गर्न अन्तर्राष्ट्रिय वित्तीय स्रोतको परिचालन अत्यन्तै आवश्यक रहेको उल्लेख गर्दै सन् २०३५ सम्म नेपालको राष्ट्रिय रूपमा निर्धारित योगदान (NDC) लक्ष्य कार्यान्वयनका लागि करिब ७३.७४ अर्ब अमेरिकी डलर लागत लाग्ने अनुमान रहेको जानकारी दिए । उक्त लागतको करिब ८५ प्रतिशत अन्तर्राष्ट्रिय जलवायु वित्त र विकास साझेदारहरूको सहयोगबाट प्राप्त हुने अपेक्षा गरिएको उनको भनाइ थियो ।

महासभामा क्षेत्रीय ऊर्जा रूपान्तरण, विद्युत् ग्रिड सुदृढीकरण, दीर्घकालीन ऊर्जा योजना, डिजिटल नवप्रवर्तन तथा कृत्रिम बुद्धिमत्ता (AI) को प्रयोग, दिगो उड्डयन इन्धन, स्वच्छ पकाउने ऊर्जा (Clean Cooking), कृषि तथा खाद्य प्रणालीमा नवीकरणीय ऊर्जाको योगदान र हरित औद्योगिकीकरण जस्ता विषयमा व्यापक छलफल भइरहेको छ ।

यसै क्रममा १० जनवरीमा सम्पन्न Pre-Assembly अन्तर्गत Call to Action on Skilling for Energy Transition तथा Mobilizing Finance for Clean Cooking सम्बन्धी बैठकहरूमा पनि नेपाली प्रतिनिधिमण्डलको तर्फबाट AEPC का कार्यकारी निर्देशक ढकालले विचार राखेका थिए । उनले ऊर्जा रूपान्तरणका लागि दक्ष जनशक्ति विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालमा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म ऊर्जा विषय समावेश गरिएको, साथै CTEVT प्रणालीमार्फत सौर्य, बायोग्यास, जलविद्युत् तथा विद्युतीय प्रविधिमा प्राविधिक तालिम सञ्चालन भइरहेको जानकारी दिए ।

स्वच्छ पकाउने ऊर्जा सम्बन्धी सत्रमा उनले नेपालमा शिक्षा तथा जनचेतना, गुणस्तर सुनिश्चितता, निजी क्षेत्रमैत्री वातावरण निर्माण र न्यून ब्याजदरमा उपभोक्ता ऋण उपलब्ध गराउने चार प्रमुख क्षेत्रमा प्राविधिक तथा वित्तीय सहयोग आवश्यक रहेको बताउँदै IRENA तथा विकास साझेदार संस्थाहरूसमक्ष सहयोगको आग्रह गरे ।

महासभाको क्रममा AEPC का कार्यकारी निर्देशक ढकालले IRENA का Deputy Director-General गौरी सिंहसँग छुट्टै भेटवार्ता गरी नेपालमा IRENA द्वारा स्वीकृत परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि पहल गरिदिन अनुरोध गरे।

नेपालले प्रस्तुत गरेका महत्वाकांक्षी ऊर्जा लक्ष्य, स्वच्छ ऊर्जा रूपान्तरणप्रतिको प्रतिबद्धता तथा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकता IRENA Assembly मा विशेष रूपमा उठाइएकाले यसले नेपालको नवीकरणीय ऊर्जा विकास र वैश्विक ऊर्जा रूपान्तरणमा नेपालको भूमिकालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img