काठमाडाैँ । सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा निर्माण भइरहेको २१.५ मेगावाट क्षमताको सभाखोला ‘बी’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ छिचोल्ने काम सम्पन्न भएको छ । आयोजनाअन्तर्गत ४ हजार ११० मिटर लामो सुरुङ सोमबार सफलतापूर्वक ‘ब्रेक थ्रु’ गरिएको हो ।
सुरुङ छिचोल्ने कार्यको औपचारिक उद्घाटन अर्बिट इनर्जी लिमिटेडका प्रबन्ध सञ्चालक गणेश कार्कीले गरेका हुन् । निजी क्षेत्रको लगानीमा अघि बढाइएको यो आयोजनाको इन्टेक सभापोखरी गाउँपालिका–३ मा रहेको छ भने आयोजना संरचनाहरू वडा नम्बर ३, ४ र ५ क्षेत्रमा फैलिएका छन् ।

आयोजनाका इन्चार्ज कृष्णप्रसाद पन्तले जानकारी दिएअनुसार इन्टेकदेखि पेनस्टक पाइप जडान हुने स्थानसम्मको मुख्य सुरुङ निर्माण सम्पन्न भइसकेको छ । अब सुरुङभित्र कङ्क्रिट लाइनिङ गरिने र त्यसपछि १ हजार ४५ मिटर लामो पेनस्टक पाइपमार्फत पानी विद्युत्गृहमा पुर्याइनेछ ।
हालसम्म आयोजनाको भौतिक प्रगति करिब ७५ प्रतिशत पुगेको छ । विसं २०७९ कात्तिक २३ गतेदेखि निर्माण सुरु गरिएको आयोजनालाई आगामी वैशाख २३ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् खाँदबारी नगरपालिका–१० स्थित सित्तलपाटीमा निर्माणाधीन नेपाल विद्युत् प्राधिकरणको सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा जोडिनेछ । यसका लागि आवश्यक प्रसारण लाइन निर्माणको करिब ६० प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ ।

करिब पाँच अर्ब रुपैयाँ लगानी रहेको यस आयोजनाको मुख्य निर्माण कम्पनी बैभव पावर नेपाल प्रालि हो। आयोजनासँगै प्रभावित क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा बेलिब्रिज पुल निर्माणजस्ता सामाजिक विकासका कार्यक्रम पनि सञ्चालनमा ल्याइएको छ ।








