काठमाडाैँ । टक्सार पिखुवा खोला हाइड्रो पावर लिमिटेडले आज अर्थात फागुन २७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १२ करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १२ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरिएको छ । सो शेयरका लागि भोजपुर जिल्लाका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
यसैगरी सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशत अर्थात ३ करोड ३ लाख ६ हजार ७०० रुपैयाँ बराबरको ३ लाख ३ हजार ६७ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ । त्यस्तै सामूहिक लगानी कोषका लागि १ लाख ५१ हजार ५३३ कित्ता र कम्पनीका कर्मचारीका लागि ६० हजार ६१३ कित्ता शेयर आरक्षित गरिएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा चैत ११ गते र ढिलोमा चैत २६ गतेसम्म आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले लागि छिटोमा चैत १ गते र ढिलोमा चैत ११ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७८ वैशाख १ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।








