Sunday, May 19, 2024
spot_img

जलवायु परिवर्तनले कृषि क्षेत्रमा पुर्याएको असर नवीकरणीय ऊर्जाद्वारा न्यूनीकरण गर्न ‘ऊर्जा सप्ताह’ हुँदै

spot_img

Share

spot_img

काठमाडौँ । नवीकरणीय ऊर्जाद्वारा कृषिको लागि दिगो सिँचाई प्रवर्द्धन गर्ने उद्देश्यले ५ दिने राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । खाद्य सुरक्षा कायम गर्ने मूल ध्येयका साथ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी)ले अन्तराष्ट्रिय पानी व्यवस्थापन संस्था (इमी) र अन्तराष्ट्रिय एकिकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा बैशाख १० गतेदेखि १४ गतेसम्म अर्थात अप्रिल २२ देखि २६ सम्म तीन वटा सम्मेलन गर्ने भएको हो ।

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा परेको असरको न्यूनीकरण नवीकरण ऊर्जाद्वारा गर्ने उद्देश्यका साथ र कृषि उत्पादकत्व वृद्धिमा सहयोग पुर्याउन सम्मेलन आयोजना गर्न लागिएको बताए ।

पछिल्लो समय जलवायु परिवर्तन विश्वव्यापी रूपमा प्रमुख चुनौतीको रूपमा रहेको छ । मौसम र जलवायु परिस्थितिमा निर्भरताका कारण विशेष गरी कृषि क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा असर परेको छ । पहाडी क्षेत्रहरूमा जटिल भू–भागका कारण कृषि र सिँचाइले प्रमुख चुनौतीहरूको सामना गर्नु परिरहेको छ र यो चुनौति जलवायु परिवर्तनका प्रभावहरूले अझ बढ्दै गएको छ ।

नेपालको ६० प्रतिशत खेतीयोग्य जमिनमा सिँचाइको अभाव छ जसमध्ये ४० प्रतिशत जमिन पहाडमा छ । तसर्थ पहाडी भूभाग कृषि उत्पादन र खाद्य सुरक्षाका दृष्टिकोणले चुनौतीपूर्ण बन्दै गइरहेको छ । यसै सन्दर्भमा सौर्य ऊर्जा विशेषगरी सौर्य सिँचाई पम्प विद्युत आपूर्ति नियमित नहुने तथा महंगो एवं उच्च हरितगृह ग्यास उत्सर्जन गर्ने खनिज इन्धनको भरपर्दो विकल्पको रूपमा रहेको छ ।

जीविकोपार्जन र कृषि–खाद्य प्रणालीमा प्रत्यक्ष लाभ पुर्याउनको लागि सौर्य सिँचाइ प्रणालीको सम्भाव्यता रहेको छ । सौर्य सिँचाइ प्रणाली प्रयोग गरेका समुदायहरूले कृषि उत्पादकत्व वृद्धि हुनुको साथै आयस्तर समेत बढेको बताएका छन् । निरन्तर र भरपर्दो सिँचाइ सुविधाको कारणले कृषकहरूको कृषि उत्पादनमा विविधीकरण गर्न, खाद्य सुरक्षामा सुधार गर्न तथा आर्थिक अवस्था माथि उकास्न सौर्य ऊर्जाले सघाउ पुर्याएकाे छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा कृषिको २४ प्रतिशत योगदान छ तर ऊर्जा खपतको हिस्सा न्यून रहेको छ जसले गर्दा परम्परागत खेतीको अभ्यास तथा आधुनिक प्रविधिको विकास र उपयोगबीच ठूलो अन्तर रहेको पाइन्छ । परम्परागत सिँचाइ प्रविधिहरूमा निर्भरता, सिमित ऊर्जा पहुँच जस्ता कारणहरूले कृषिमा चुनौतीहरू बढ्नुको साथै हिमाली समुदायहरूलाई जलवायु अनिश्चिततातर्फ धकेलिएको छ । कृषि उत्पादकत्व वृद्धि गर्न, खाद्य मागहरू पूरा गर्न र जलवायु परिवर्तनको सामना गर्न सम्मेलन आयोजना लागिएको एइपिसीले जानकारी दिएको छ ।

यसै सन्दर्भमा आयोजना गर्न लागिएको सम्मेलनले नवीकरणीय ऊर्जाले वातावरणीय चुनौतिहरूबाट उत्पन्न समस्याहरूको सामना गर्न र हिमाली, पहाडी तथा तराइ क्षेत्रमा कृषि उत्पादकत्व वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने ढकालले बताए ।

‘केन्द्र र इसिमोडले तयार गरेको नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग प्लेटफर्म अनुसार नेपालमा हालको सिँचाइ मागलाई सम्बोधन गर्न ८०० देखि १ हजार ३०० मेगावाट बराबरको नवीकरणीय ऊर्जाको आवश्यकता छ’, उनले भने, ‘इमीसँगको सहकार्यमा गरिएको सौर्य सिँचाइ सम्बन्धी अनुसन्धानले नवीकरणीय ऊर्जा अनुदान नीतिमा साना कृषक तथा समुदायमा आधारित सौर्य सिँचाइ प्रणालीको लागि अनुदान उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न योगदान पुर्याएको छ ।’

उनले यस्ता सम्मेलनहरूले नवीकरणीय ऊर्जाको माध्यमबाट कृषि र सिँचाइ प्रणालीहरूमा जलवायु उत्थानशीलता वृद्धि गर्नको लागि सामूहिक छलफल गरी आवश्यक रणनीति निर्माण गर्न सघाउ पुग्ने बताए ।

आगामी साता आयोजना गर्न लागिएको मुख्य तीन कार्यक्रमहरूमा सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवाद, हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग वृद्धि सम्बन्धी क्षेत्रीय सम्मेलन र सामाजिक रुपमा समावेशी सौर्य सिँचाइ प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान नीति सम्मेलन रहेका छन् ।

यी तीनवटा सम्मेलनहरू जलवायु उत्थानशील सिँचाइ मार्फत दिगो कृषिको लागि रुपान्तरणकारी विकल्पको रूपमा नवीकरणीय ऊर्जाको भूमिकाको विषयमा केन्द्रित रहने छन् ।

सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवादः दिगो सिँचाइ तथा समावेशी नीतिको लागि नवीकरणीय ऊर्जा सहितको कृषिमा जोड

सन् २०२४ अप्रिल २२ अर्थात बैशाख १० गते आयोजना गरिने ‘सौर्य सिँचाइ सम्बन्धी राष्ट्रिय विज्ञान–नीति संवाद’ को मुख्य उद्देश्य समावेशी, स्तरोन्नति तथा दिगोपनामा आधारित सौर्य सिँचाइ प्रणाली विकास सम्बन्धी विज्ञान–नीति संवादमा नीति निर्माताहरू, अनुसन्धानकर्ताहरू, निजी क्षेत्र, विकास साझेदारहरू, नागरिक समाज र अन्य प्रमुख सरोकारवालाहरूलाई एकसाथ संलग्न गराउने रहेको छ । त्यसैगरी सम्मेलनका अन्य उद्देश्यहरूमा सौर्य सिँचाइ सम्बन्धी नेपालको ज्ञान तथा अनुभव आदानप्रदान गर्नु, प्रमुख सरोकारवालाहरूबीच नीतिगत संवादलाई प्रोत्साहन गर्नु र नेपालको सौर्य सिँचाइ क्षेत्रमा भविष्यमा गर्नुपर्ने अनुसन्धान तथा अवसरहरूको पहिचान गर्नु रहेको छ ।

यो सम्मेलनले नेपालमा सौर्य सिँचाइ प्रणालीको प्रवद्र्धनमा वृद्धि गरी जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलन, सौर्य सिँचाइ कार्यान्वयनमा लैङ्गिक समानता र सामाजिक समावेशीकरणको प्रवद्र्धन जस्ता विषयहरूमा जोड दिँदै सौर्य सिँचाइ कार्यकमको दिगोपन र उत्थानशीलतामा सघाउ पुर्याउनेछ ।

सौर्य सिँचाइ पम्प, पानी, ऊर्जा र खाद्य जस्ता आधारभूत आवश्यकताबाट असुरक्षित साना कृषकहरूमा खाद्य र पोषण सुरक्षामा सुधार ल्याउने कार्यमा सघाउ पुर्याउने एक रुपान्तरणकारी नवीकरणीय ऊर्जा प्रविधि हो । ‘इमी’ की नेपाल प्रतिनिधि डा.मनोहरा खड्काले स्वच्छ ऊर्जा एवं सौर्य सिँचाइको क्षेत्रमा महिलाहरूसँग सम्बन्धी एजेन्सी तथा महिलाहरूमा रहेको ज्ञान र क्षमतालाई कम आंकलन गर्ने वर्तमान परिवेशमा यस प्रविधिले सिँचाइ र कृषि प्रणालीको विद्यमान असमान शक्ति सम्बन्धलाई सुदृढ बनाउन सघाउ पुर्याउने बताए ।

‘हिन्दुकुश हिमालय क्षेत्रमा कृषिमा नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोग वुद्धि सम्बन्धी क्षेत्रीय सम्मेलन’

सन् २०२४ अप्रिल २३ अर्थात बैशाख ११ गते आयोजना गरिने क्षेत्रीय सम्मेलनले हिन्दुकुश हिमालय क्षेत्रमा रहेका देशहरूबाट प्रतिनिधित्व गर्ने नीति निर्माता, विज्ञ, व्यवसायी र सरोकारवालाहरूलाई एकसाथ सहभागी गराइ कृषि क्षेत्रमा उत्पादनमुलक उपयोगको लागि नवीकरणीय ऊर्जाको सम्भावनाबारे स्पष्ट दिशा निर्देश गर्नेछ । यस पहलले सौर्य सिँचाइ सम्बन्धी साझा सवालहरूलाई कार्यान्वयनयोग्य नीति निर्माणको लागि सिफारिस गर्न र यस क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रवद्र्धनलाई प्रोत्साहित गर्न सघाउ पुग्नेछ । यो क्षेत्रीय सम्मेलनले नवीकरणीय ऊर्जाको उत्पादनमुलक उपयोगलाई मापन गर्न र कृषि क्षेत्रमा अर्थपूर्ण परिवर्तनको लागि सहयोगी रणनीतिहरू पहिचान गर्नुका साथै आवश्यक पूर्वाधारहरूको साझा एजेण्डा स्थापित गर्न ‘प्लेटफर्म’को रूपमा समेत काम गर्नेछ ।

इसिमोडका ऊर्जा विज्ञ अभिषेक मल्लले स्वच्छ ऊर्जाको रुपान्तरणले अन्य क्षेत्रहरूमा धेरै फड्को मारेतापनि कृषि क्षेत्रलाई रूपान्तरणका लागि यसको क्षमताको उपयोग गर्न नसकेको बताए । उनले नेपालको कुल गार्हस्थ उत्पादनको एक तिहाइ हिस्सा ओगट्ने र देशको दुई तिहाइ जनसंख्यालाई रोजगारी दिने कृषि क्षेत्रमा केन्द्रित हुनु महत्त्वपूर्ण रहेको बताए । नेपालको उदाहरण दिदै विशेष गरी जलवायु परिवर्तनको प्रभावबाट बदलिदो परिवेशमा पानीको उपलब्धता कम हुने स्थानमा उच्च कुपोषणको दर रहने पनि उनले औल्याए । कृषि जस्तो महत्त्वपूर्ण क्षेत्रमा विकासको गति बढाउन सरकारी साझेदारहरूसँगको सहकार्यमा यो ‘ऊर्जा सप्ताह’ आयोजना गर्न पाउँदा अत्यन्तै खुसी भएको बताए । ‘पृथ्वीमा जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित मुलुकहरूमध्येको एक नेपालका हिमाल, पहाड तथा तराइ क्षेत्रका लाखौं साना किसानहरूको जीवनस्तरमा सुधार ल्याउने र खाद्य सुरक्षा एवं खाद्य सम्प्रभुता कायम गर्ने क्षमता राख्छ’ उनले भने ।

‘समावेशी सौर्य सिँचाइ प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय विज्ञान नीति सम्मेलन’

अप्रिल २४ देखि २६ अर्थात बैशाख १२ गते १४ गतेसम्म हुने यस सम्मेलनले कृषिमा सौर्य उर्जाको प्रभावकारी र दिगो प्रयोगको बारेमा विश्वव्यापी महत्वाकांक्षाको मापन, विश्वभरका र दक्षिण एसियामा कृषिमा सौर्य ऊर्जा प्रयोगको बढ्दो प्रभाव र प्रमाणहरूबारे छलफल हुनेछ । विशेष गरी यस क्षेत्रका अनुभव अन्तरदृष्टिहरू, र दक्षिण–दक्षिण सहकार्यमा छलफल गर्न करिव १५० प्रमुख सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याइउने छ । सम्मेलनमा ‘भूमिगत जलस्रोतको दिगोपन, अनुकूलन तथा न्यूनीकरण’, सौर्य सिँचाइ प्रणालीको व्यावसायीक ढाँचाहरू तथा सौर्य सिँचाएको स्तरोन्नति’, ‘क्षमता अभिवृद्धि एव लैंगिक समाना तथा सामाजिक समावेशीकरणमा समुदायको भूमिका’ र ‘सौर्य ऊर्जा रुपान्तरणको लागि प्रभावकारी तथा समावेशी नीतिगत व्यवस्था’ प्रस्तुतिकरण र छलफल हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचार
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img