काठमाडाैँ । गोरखाको धार्चे गाउँपालिकास्थित माछा खोलामा निर्माणाधीन १६ मेगावाटको माछाखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । कृषि विकास बैंक लिमिटेडको नेतृत्वमा र लुम्बिनी विकास बैंक लिमिटेडको सहलगानीमा आयोजनाका लागि ऋण लगानी सुनिश्चित गरिएको हो ।
कार्यक्रममा प्रवर्द्धक कम्पनी वाटर इनर्जी डेभलपमेन्ट प्रालिका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत योगेन्द्रबहादुर सिंह तथा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत भेषराज गौतमले सहवित्तीयकरण ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
कुल ३ अर्ब ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७३.२२ प्रतिशत अर्थात् २ अर्ब ६८ करोड रुपैयाँ ऋणमार्फत जुटाइनेछ । सम्झौताअनुसार कृषि विकास बैंकले १ अर्ब ५० करोड रुपैयाँ र लुम्बिनी विकास बैंकले १ अर्ब १८ करोड रुपैयाँ लगानी गर्नेछन् । बाँकी ९८ करोड रुपैयाँ संस्थापक तथा अन्य लगानीकर्ताबाट सेयरमार्फत जुटाइने बताइएको छ ।
आयोजनाबाट वार्षिक ९८.४९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ । उत्पादित विद्युत्मध्ये ३२.४२ प्रतिशत सुख्खायाममा र ४७.५८ प्रतिशत वर्षायाममा उत्पादन हुने कम्पनीले जनाएको छ । आयोजनाबाट उत्पादित विद्युत् २२ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको बोराङ सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको पहिलो वर्ष अनुमानित आम्दानी ५८ करोड ७६ लाख रुपैयाँ रहनेछ । विद्युत् खरिद–बिक्री सम्झौताअनुसार सुरुवाती ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले विद्युत् मूल्य वृद्धि हुने व्यवस्था गरिएको छ ।
५६२.५० मिटर ग्रस हेड रहेको आयोजनामा २५ मिटर लामो बाँध, ३ हजार ३८३ मिटर लामो सुरुङ तथा १ हजार ९९७ मिटर लामो पेनस्टक पाइप निर्माण गरिनेछ । आयोजनाको सुरुङ खन्ने काम यही वैशाखदेखि सुरु भइसकेको कम्पनीले जनाएको छ ।








