Monday, May 18, 2026
spot_img

‘तत्काल सुनुवाइ, तत्काल समाधान’ नीतिमा ऊर्जा मन्त्रालय

spot_img

Share

spot_img

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनगुनासो सुनुवाइलाई परिणाममुखी बनाउने उद्देश्यसहित सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ । ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले पदभार सम्हालेपछि ‘गुनासो सुन्ने र तुरुन्त समाधान गर्ने’ कार्यशैलीलाई प्राथमिकता दिँदा मन्त्रालय र मातहतका निकाय थप सक्रिय बनेका छन् ।

मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासम्बन्धी हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको छ । २४सै घण्टा सञ्चालनमा रहने उक्त हटलाइन अब गुनासो दर्ता गर्ने माध्यम मात्र नभई समस्या समाधानको प्रत्यक्ष संयन्त्रका रूपमा विकसित गरिएको छ । फोन, ह्वाट्स एप, इमेल तथा हेलो सरकारमार्फत आएका गुनासोलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने अभ्यासलाई तीव्र बनाइएको छ ।

मन्त्री श्रेष्ठको सचिवालयले जनसरोकारका विषयलाई प्राथमिकतामा राख्दै नियमित प्रशासनिक प्रक्रियाभन्दा बढी उत्तरदायी शैली अपनाएको जनाएको छ । प्रमुख स्वकीय सचिव सञ्जिव महर्जन र स्वकीय सचिव राजा शाक्य स्वयं सम्बन्धित निकायसँग समन्वय गर्दै गुनासो समाधान प्रक्रियामा सक्रिय छन् । सचिवालयले गुनासो सम्बन्धित निकायसम्म पुर्‍याउने मात्र नभई समाधानको अवस्थासम्म पुर्‍याउने अभ्यास थालेको दाबी गरेको छ ।

मन्त्रालयका अनुसार चैत १५ गतेयता हटलाइन र अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । प्राप्त अधिकांश गुनासो विद्युत् सेवा अवरोध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, मिटर समस्या, पोल स्थानान्तरण, ईभी चार्जिङ तथा सिँचाइ सेवासँग सम्बन्धित रहेका छन् ।

मन्त्रालयले केही घटनामा प्रत्यक्ष सक्रियता समेत देखाएको जनाएको छ । बाँकेको चिसापानी क्षेत्रमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनका दुई टावर ढल्दा प्रभावित विद्युत् आपूर्ति पुनः सञ्चालनका लागि तत्काल समन्वय गरिएको थियो । यस्तै, स्याङ्जाको वालिङ र भीरकोट क्षेत्रमा चट्याङका कारण क्षतिग्रस्त ट्रान्सफर्मर मर्मत गरी करिब ६५ घण्टापछि विद्युत् सेवा पुनः सञ्चालन गरिएको थियो । काठमाडौंको स्वयम्भु क्षेत्रमा वर्षौंदेखि सडकबीच रहेका पोल स्थानान्तरणको विषय पनि मन्त्रालयको सक्रिय समन्वयपछि समाधान भएको सचिवालयले जनाएको छ ।

मन्त्रालयले अवलम्बन गरेको यो शैलीले ‘सुनुवाइ हुने सरकार’ को अनुभूति दिलाउने प्रयास गरेको भन्दै तत्काल प्रतिक्रिया र प्रत्यक्ष अनुगमनको अभ्यासले सार्वजनिक सेवा प्रवाहमा सुधार तथा सेवाग्राहीको भरोसा बढ्ने अपेक्षा गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img