Thursday, May 14, 2026
spot_img

सिटिजन्स बैंकको नेतृत्वमा मर्स्याङ्दी बेसीमा ७.५ अर्ब ऋण लगानी

spot_img

Share

spot_img

काठमाडाैँ । ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको फाइनान्सियल क्लोजर टुंगिएको छ । सिटिजन्स बैंकको नेतृत्वमा भएको सहवित्तीयकरणमार्फत आयोजनाका लागि ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सुनिश्चित गरिएको हो । कन्सोर्टियममा प्रभु बैंक, नेपाल एसबीआई बैंक र एनआईसी एशिया बैंक सहभागी छन् ।

बुधबार आयोजित कार्यक्रममा प्रवर्द्धक दिब्यज्योती हाइड्रो पावर लिमिटेड र बैंकहरूबीच लोन एग्रिमेन्टमा हस्ताक्षर भएको हो । गण्डकी प्रदेशको लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण हुने आयोजनाको कुल लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनामा ऋण र इक्विटीको अनुपात ६७ः३३ कायम गरिएको छ । बैंकहरूले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् भने बाँकी करिब ३ अर्ब ८० करोड रुपैयाँ प्रवर्द्धक पक्षले इक्विटीका रूपमा जुटाउनेछन् ।

कम्पनीका अनुसार आयोजना चार वर्षभित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ । उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लमजुङस्थित उदीपुर सबस्टेशनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ । आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट आवर विद्युत उत्पादन हुने अनुमान गरिएको छ । जसमा हिउँदयाममा ११२.०९९ गिगावाट आवर र वर्षायाममा २००.५०३ गिगावाट आवर ऊर्जा उत्पादन हुनेछ ।

सम्झौता कार्यक्रममा बोल्दै अपि पावर कम्पनीका निर्देशक सन्जिव न्यौपानेले आयोजनाको कन्स्ट्रक्सन ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए । उनले कम्पनीले साना क्षमताका आयोजनाबाट अनुभव बटुल्दै अब ५० मेगावाटसम्मका आयोजना निर्माण गर्न सक्ने क्षमता विकास गरिसकेको उल्लेख गरे । साथै आगामी दिनमा पम्प स्टोरेज र जलाशययुक्त आयोजना निर्माणतर्फ अघि बढ्ने योजना रहेको पनि उनले बताए ।

सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकले सुरुदेखि नै ग्रीन इनर्जीलाई प्राथमिकतामा राखेर लगानी गर्दै आएको बताए । निजी क्षेत्र र बैंकिङ क्षेत्रको सहकार्यले नेपालको ऊर्जा क्षेत्रमा ठूलो परिवर्तन सम्भव भएको उनको भनाइ थियो ।

दिब्यज्योती हाइड्रो पावर लिमिटेडका अध्यक्ष सतिस न्यौपानेले आयोजनासम्बन्धी विद्युत विकास विभागको अनुमति, इआईए र पीपीए लगायतका सबै कानुनी प्रक्रिया पूरा भइसकेको जानकारी दिए । फाइनान्सियल क्लोजर टुंगिएसँगै आयोजनाको फिजिकल कन्स्ट्रक्सनलाई तीव्रता दिइने उनले बताए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img