काठमाडाैँ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत विद्युत् विकास विभागले २३७.२ मेगावाटकाे लोवर बडिगाड जलाशययुक्त जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन सम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रमका लागि सार्वजनिक सूचना जारी गरेको छ ।
सूचनाअनुसार लुम्बिनी प्रदेशको गुल्मी जिल्ला तथा गण्डकी प्रदेशको बागलुङ जिल्लाका विभिन्न स्थानीय तहहरू प्रभावित हुने उक्त आयोजना प्रस्तावित गरिएको हो । आयोजनाबाट प्रभावित क्षेत्रहरूमा स्थानीय सरोकारवालाको सुझाव तथा प्रतिक्रिया संकलन गर्न विभिन्न स्थान र मितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम तय गरिएको विभागले जनाएको छ ।
सार्वजनिक सुनुवाइ कार्यक्रमहरू निर्धारित मिति, समय र स्थानमा सञ्चालन हुनेछन् । प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, जनप्रतिनिधि, सरोकारवाला निकाय, विद्यालय, स्वास्थ्य संस्था तथा सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरूलाई कार्यक्रममा सहभागी भई आफ्नो राय, सुझाव तथा प्रतिक्रिया राख्न अनुरोध गरिएको छ । विभागले बैंशाख १९ गतेदेखि विभिन्न क्षेत्रमा सार्वजनिक सुनुवाइ गर्ने तयारी गरेकाे छ ।
वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ अनुसार EIA प्रतिवेदन कार्यान्वयन अघि सार्वजनिक सुनुवाइ गर्नुपर्ने कानुनी व्यवस्था अनुरूप यो सूचना प्रकाशित गरिएको विभागले स्पष्ट पारेको छ ।
साथै, आयोजनासम्बन्धी थप जानकारी तथा सुझाव दिन इच्छुक व्यक्तिहरूले विद्युत् विकास विभाग, सानो गौचर, काठमाडौं वा परामर्शदाता कम्पनीमार्फत समेत सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।








