काठमाडौँ । म्याग्दी जिल्लाको धवलागिरी गाउँपालिका–३ कुनौटामा निर्माणाधीन ६.५ मेगावाटको दरखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । दरखोला हाइड्रो पावर प्रा.लि. द्वारा प्रवर्द्धित आयोजनाका लागि एनएमबी बैंकसँग ऋण लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
बैंकको बबरमहलस्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ । ऋण सम्झौतापत्रमा बैंकका तर्फबाट दिगो ऊर्जा बैंकिङ प्रमुख दिनेश दुलाल तथा कम्पनीका तर्फबाट अध्यक्ष रेशमप्रसाद भण्डारी र सञ्चालक बलभद्र ढकालले हस्ताक्षर गरे ।
आयोजना सम्पन्न गर्न १ अर्ब ३० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा यसमध्ये ७० प्रतिशत अर्थात् करिब ९१ करोड रुपैयाँ बैंकले ऋण लगानी गर्नेछ । बाँकी ३० प्रतिशत अर्थात ३९ करोड रुपैयाँ आन्तरिक स्वपुँजीबाट जुटाइने जनाइएको छ ।
कार्यक्रममा आयोजना प्रमुख उपेन्द्र घिमिरेले परियोजनाको प्राविधिक, वातावरणीय तथा सामाजिक पक्ष, स्थानीय लगानी र अनुभवी इन्जिनियरहरूको संलग्नतालाई आधार मानेर बैंकले लगानी गरेको जानकारी दिए ।

दरखोलाको पानीलाई १२ मिटर चौडाइको बाँधमार्फत संकलन गरी ३० मिटर लामो सेडिमेन्ट पोखरीमा प्रशोधन गरिनेछ । त्यसपछि ४.५ किलोमिटर पाइपलाइनमार्फत ५४८ मिटर हेड प्रयोग गरी दुई वटा टर्वाइनमार्फत विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ ।
आयोजना निर्माण पूरा भएपछि वार्षिक ३६ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादित विद्युत् करिब ७ किलोमिटर लामो ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेसनमा जोडिने छ ।
कम्पनीका अनुसार आयोजनाका लागि आवश्यक निजी जग्गा खरिद सम्पन्न भइसकेको छ भने सरकारी जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढिरहेको छ । आयोजना निर्माणलाई तीव्रता दिन अनुभवि प्राविधिक जनशक्ति र ठेकेदार कम्पनीमार्फत काम अघि बढाइएको जनाइएको छ ।
कार्यक्रममा बैंकका बरिष्ठ डीसीओ सुदेश उपाध्याय, सञ्चालक कालिराम पुर्जा, प्राविधिक परामर्शदाता सुवासचन्द्र बराल तथा वित्तीय परामर्शदाता नारायणप्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो ।








