काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले हालसम्म ४८ वटा जलविद्युत आयोजनाहरूमा ६५ अर्ब ८७ करोड रुपैयाँ बराबरको कर्जा तथा स्वपुँजी (इक्विटी) लगानी स्वीकृत गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार स्वीकृत कुल लगानीमध्ये १५ अर्ब ८९ करोड रुपैयाँ प्रवाह भइसकेको छ भने ४९ अर्ब ९८ करोड रुपैयाँ प्रवाह हुन बाँकी रहेको छ । स्वीकृत लगानीको रकम अपेक्षा अनुसार समयमा प्रवाह हुन नसक्दा कम्पनीको बैंक मौज्दातमा भने वृद्धि भएको छ ।
नाफामा गिरावटको मुख्य कारण
ब्याजदर समीक्षा अवधिको अन्त्यसम्ममा कम्पनीको कर अघिको मुनाफा गत वर्षको सोही अवधिको तुलनामा २५.१५ प्रतिशतले घटेको छ । गत वर्षको तुलनामा मुनाफा घट्दै ७७ करोड ४३ लाख रुपैयाँमा सीमित भएको हो ।
बैंकको ब्याजदरमा आएको व्यापक गिरावटले कम्पनीको लगानीबाट प्राप्त हुने प्रतिफलमा नकारात्मक असर पारेकाले नाफा घट्न पुगेको कम्पनीले जनाएको छ ।
कर्जा र स्वपुँजी लगानीको अवस्था
कम्पनीले प्रवाह गरेको कर्जामध्ये समीक्षा अवधिसम्म ७ अर्ब ९५ करोड रुपैयाँ कर्जा बाँकी रहेको छ । सञ्चालनमा आइसकेका आयोजनाहरूबाट नियमित रूपमा कर्जा असुली भइरहेको कम्पनीको भनाइ छ । यस्तै, आ.व. २०८२/८३ को चैत मसान्तसम्ममा सार्वजनिक र निजी क्षेत्रका जलविद्युत तथा नवीकरणीय ऊर्जा आयोजनाहरूमा कम्पनीको ४ अर्ब ४९ करोड रुपैयाँ (बजार मूल्य अनुसार) स्वपुँजी लगानी रहेको छ । यसको लागत मूल्य भने ३ अर्ब ७२ करोड रुपैयाँ रहेको छ ।
सहायक कम्पनीका आयोजना र शेयर संरचनामा परिवर्तन
एचआईडिसिएलले आफ्ना सहायक कम्पनीमार्फत अघि बढाएका घुन्सा खोला र सिम्बुवा खोला जलविद्युत आयोजनाहरूको शेयर संरचनामा परिवर्तन गरेको छ । अब यी आयोजनाहरूमा नेपाल विद्युत प्राधिकरण र विद्युत उत्पादन कम्पनी लिमिटेडको समेत सहभागिता रहनेछ ।
आयोजनाहरूको प्रगति विवरण अनुसार घुन्सा खोला जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (PPA) र वित्तीय व्यवस्थापन (Financial Closure) को काम सम्पन्न भइसकेको छ । त्यस्तै, सिम्बुवा खोला जलविद्युत आयोजनाको निर्माण पूर्वका कार्यहरू सम्पन्न भई हाल PPA र वित्तीय व्यवस्थापनको प्रक्रिया अगाडि बढिरहेको कम्पनीले उल्लेख गरेको छ ।








