काठमाडाैँ । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत मुख्य बाँध निर्माण कार्यले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । आयोजनाको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत पूरा भएको छ ।
आयोजना कार्यालयका अनुसार बाँध निर्माणका लागि आवश्यक कुल ८ लाख ५० हजार घनमिटर कङ्क्रिटमध्ये हालसम्म ४ लाख २४ हजार १२० घनमिटर कङ्क्रिट ढलान सम्पन्न भइसकेको छ । २०८१ चैत ७ गतेदेखि तीव्र गतिमा अघि बढाइएको बाँध निर्माण कार्य निर्धारित लक्ष्यअनुसार अगाडि बढिरहेको आयोजनाले जनाएको छ ।
मुख्य बाँध तथा सम्बन्धित संरचना निर्माणको जिम्मा सोङ्दा–कालिका संयुक्त उपक्रम (जेभी) ले लिएको छ । यसअन्तर्गतको प्याकेज–१ को समग्र भौतिक प्रगति ५९ प्रतिशत पुगेको छ ।
आयोजनाका लागि आवश्यक सुरुङ, कफर ड्याम तथा अन्य पूर्वाधार संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै, सेती नदीको सफल पथान्तरणपछि मुख्य बाँध निर्माण कार्य थप सहज बनेको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा पूर्वाधारमा एक महत्वपूर्ण उपलब्धि बन्नेछ । आयोजनाबाट उत्पादित विद्युत्ले राष्ट्रिय प्रसारण प्रणालीमा थप ऊर्जा उपलब्ध गराउँदै देशको ऊर्जा सुरक्षा सुदृढ बनाउन योगदान पुर्याउने अपेक्षा गरिएको छ ।








