Monday, July 6, 2026
spot_img

रसुवागढीको ७४ मेगावाट विद्युत् पुनः राष्ट्रिय प्रसारणमा

spot_img

Share

spot_img

काठमाडाैँ । गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको करिब ७५ प्रतिशत मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न भएको छ । मर्मतपछिको परीक्षण सफल भएसँगै आयोजना पुनः सञ्चालनमा आएको छ भने हाल राष्ट्रिय विद्युत् प्रणालीको मागअनुसार ७४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

नेपाल–चीन सीमास्थित भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरिएको यो आयोजना देशका महत्वपूर्ण जलविद्युत् आयोजनामध्ये एक हो । गत वर्षको बाढीले आयोजनामा ठूलो क्षति पुर्याए पनि छोटो अवधिमै पुनः सञ्चालनको अवस्थामा पुग्नु सकारात्मक उपलब्धि भएको स्थानीय सोनाम औदी तामाङले बताए । 

रसुवागढी जलविद्युत् कम्पनीका कार्यकारी निर्देशक सत्यराम ज्याख्वाका अनुसार बाढीका कारण सुरुङभित्र पसेको भेलले क्षति पुर्याएका विद्युत्‌गृहका उपकरणहरूको मर्मत, भूमिगत डिसेन्डर (बालुवा थिग्राउने पोखरी) को सफाइ तथा अवरोध हटाउने, साथै हाइड्रो–मेकानिकलतर्फका सम्पूर्ण मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न भइसकेका छन् ।

त्यसैगरी आयोजनाले प्रयोग गर्ने पुलको सुरक्षाका लागि तटबन्ध निर्माण तथा जोखिमयुक्त स्थानमा आवश्यक संरक्षणका कामसमेत पूरा गरिएको कम्पनीले जनाएको छ ।

भोटेकोशी नदीस्थित बाँध क्षेत्रमा बाढीले थुपारेका ठूला ढुङ्गा फुटाउने कार्य सम्पन्न भइसकेको छ भने ड्याम मर्मत तथा सुधारका बाँकी काम अन्तिम चरणमा पुगेका छन् । अब नयाँ गेटमार्फत नदीको पानी फिल्टर गरी सुरुङमा पठाउने व्यवस्था मिलाइएकाले आयोजना १११ मेगावाट पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्षम भइसकेको कम्पनीको दाबी छ ।

बाढीका कारण आयोजनामा साढे तीन अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको कम्पनीको प्रारम्भिक अनुमान छ । जलविद्युत् केन्द्र प्रमुख सन्तोष अधिकारीका अनुसार आयोजना पूर्ण रूपमा सञ्चालनयोग्य भए पनि देशभित्र विद्युत्‌काे माग कम रहेका कारण नेपाल विद्युत् प्राधिकरणको निर्देशनअनुसार हाल ७४ मेगावाट मात्र राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको हो ।

प्राविधिकहरूका अनुसार बाँध क्षेत्रबाहेक आयोजनाका अधिकांश संरचना भूमिगत रहेकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना न्यून छ । भविष्यमा बाह्य संरचनाको सुरक्षा थप सुदृढ गर्दै आयोजनालाई दीर्घकालीन रूपमा सुरक्षित रूपमा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img