Friday, July 24, 2026
spot_img

ओनीको ८औँ वार्षिक साधारणसभा सम्पन्न: ऊर्जा क्षेत्रमा महिला सहभागिता र नवप्रवर्तनमा जोड

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा र वातावरणका लागि महिला सञ्जाल, नेपाल (WONI/ओनी) को आठौँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा ऊर्जा क्षेत्रमा महिलाको पहुँच र नेतृत्व अभिवृद्धि, नीतिगत सुधार तथा विद्यार्थीहरूद्वारा प्रस्तुत नवप्रवर्द्धनात्मक अवधारणाहरूमा गहन छलफल भएको छ ।

कार्यक्रममा बाेल्दै इन्जिनियरिङ् अध्ययन संस्थान (IOE) पुल्चोक क्याम्पसकी सह-प्राध्यापक एवम् WePower Nepal की अध्यक्ष संगिता सिंहले विद्यार्थीहरूले प्रस्तुत गरेका विषयवस्तुहरूको प्रशंसा गरिन् । सिहंले विद्यार्थीहरूकाे उत्साहजनक सहभागिता र उनीहरूमा रहेको प्रतिभाले आफूलाई निकै प्रभावित पारेको बताइन् ।

उनले प्रतिभाको कुनै लिङ्ग नहुने तर अवसरको हुने उल्लेख गर्दै शैक्षिक क्षेत्रमा छात्राहरूले उत्कृष्ट नतिजा ल्याए पनि व्यावहारिक अवसर र पहिचानको क्षेत्रमा भने पुरुषहरूकै बाहुल्य देखिने गरेकाले यो खाडल पुर्न लैङ्गिक समानता र सचेतना आवश्यक रहेको औँल्याइन् । दक्षिण एसियाली राष्ट्रहरूका ऊर्जा क्षेत्रमा कार्यरत महिला पेशेवरहरूको सञ्जाल WePower ले तल्लो तहदेखि नै क्षमता विकासमा काम गरिरहेको जानकारी दिँदै उनले STEM शिक्षामा महिलाको सहभागिता बढाउनु, विभिन्न इन्जिनियरिङ विधामा महिला भर्ना वृद्धि गर्नु र माथिल्लो नेतृत्व तहमा महिला पुर्याउन जेन्डर एक्सन प्लान र नीतिगत पैरवी गर्नु आजको मुख्य आवश्यकता रहेको बताइन् ।

नेपाल विद्युत् प्राधिकरणकी निर्देशक रन्जु पाण्डेले पनि विद्यार्थीहरूले प्रस्तुत गरेका नवप्रवर्द्धनात्मक प्रतिभाको उच्च तारिफ गरिन् । उनले ऊर्जा क्षेत्रको नीतिगत तथा निर्णय निर्माण तहमा महिलाहरूको उपस्थिति अनिवार्य रूपमा हुनुपर्नेमा जोड दिइन । आगामी दिनहरूमा ऊर्जा क्षेत्रको नेतृत्वदायी भूमिकामा महिलाहरू पुग्नेछन् भन्नेमा उनले पूर्ण विश्वास व्यक्त गरिन् ।

सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीले ऊर्जा क्षेत्रमा महिलाहरूको सहभागिता बढाउन ओनीले खेलेको भूमिकाको सराहना गरे । उनले ऊर्जा क्षेत्रमा महिला सशक्तिकरणका लागि ओनीले गरेका प्रयासहरू अत्यन्तै अनुकरणीय रहेको बताउँदै आम उपभोक्ता र साना उद्योगलाई राहत दिन सरकारले विद्युत्मा लगाएको कर फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरे ।

ओनीको गतिविधि, चुनौती र भावी कार्यदिशा: अध्यक्ष कला तिमल्सिना

कार्यक्रममा ओनीकी अध्यक्ष कला तिमल्सिनाले संस्थाको स्थापना, गतिविधि र ऊर्जा क्षेत्रका विद्यमान चुनौतीहरू समेटिएको विस्तृत प्रतिवेदन प्रस्तुत गरेकि थिइन् । सन् २०१८ मा स्थापित ओनीले मुख्य रूपमा संयुक्त राष्ट्रसंघका दिगो विकास लक्ष्य (SDG) अन्तर्गत लैङ्गिक समानता, सुलभ र स्वच्छ ऊर्जा, तथा जलवायु कार्यलाई केन्द्रमा राखेर काम गरिरहेको छ ।

संस्थाले ग्रामीण महिलाहरूलाई विद्युत्को सही प्रयोग र सुरक्षाबारे सचेतना दिन दिदीबहिनी आधारभूत बिजुली शिक्षा, छात्राहरूलाई STEAM क्षेत्रमा आकर्षित गर्न Inclusive Green Future Campaign, र महिलाहरूलाई स्वरोजगार बनाउन विद्युतीय उपकरण मर्मत तथा वायरिङ तालिमहरू सञ्चालन गर्दै आएको छ । साथै संस्था APWLD, WePower, GEF, र Grassroots Justice Network जस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग पनि आबद्ध छ ।

अध्यक्ष तिमल्सिनाका अनुसार ऊर्जा क्षेत्रमा महिलाले काम गर्न सक्दैनन् भन्ने सामाजिक सोच, पारिवारिक अवरोध, लगानीको अभाव, कार्यक्षेत्रको सुरक्षा चुनौती र महिलाहरू स्वयंमा आत्मविश्वासको कमी हुनु प्रमुख समस्याका रूपमा रहेका छन् । आगामी दिनमा ओनीले व्यापक जनचेतना फैलाउने, प्राविधिक सीप विकासका कार्यक्रमहरू सञ्चालन गर्ने र लैङ्गिक समानता, ऊर्जा दक्षता तथा जलवायु न्यायका लागि नीतिगत तहमा निरन्तर पैरवी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

विद्यार्थीहरूद्वारा नवप्रवर्द्धनात्मक आइडिया प्रस्तुत

साधारणसभाका अवसरमा इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूबीच प्रस्तुतीकरण प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा विभिन्न इन्जिनियरिङ कलेजका ७ वटा समूहले ऊर्जा र वातावरणसँग सम्बन्धित नयाँ तथा व्यावहारिक आइडियाहरू प्रस्तुत गरेका थिए । जसमा उत्कृष्ट प्रस्तुतीकरण गर्दै ख्वप कलेज अफ इञ्जिनीयरिङका विद्यार्थीहरूको समूह पहिलो हुन सफल भएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img