काठमाडाैँ । नेपालमा तार, केबल तथा कन्डक्टर उत्पादनमा अग्रणी लिट्मस इन्डस्ट्रिज लिमिटेडले आफ्नो चौथो ‘पावर पार्टनर्स मिट २०८३’ पोखरामा सम्पन्न गरेको छ । कार्यक्रममा देशभरका करिब २०० जना च्यानल पार्टनर (डिलर) को सहभागिता रहेको कम्पनीले जनाएको छ ।
हरेक वर्ष आयोजना हुने यस कार्यक्रमको उद्देश्य कम्पनी र डिलर नेटवर्कबीचको सहकार्यलाई थप सुदृढ बनाउने, साझा उपलब्धिको सम्मान गर्ने तथा आगामी व्यावसायिक रणनीतिबारे जानकारी आदानप्रदान गर्नु रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा लिट्मस इन्डस्ट्रिजको पाँच दशकभन्दा लामो यात्रालाई समेटिएको प्रस्तुति गरिएको थियो । कम्पनीको विकासक्रम, उत्पादन क्षमता, बजार नेतृत्व, महत्वपूर्ण उपलब्धि तथा भावी योजनाबारे जानकारी गराउँदै अत्याधुनिक प्रविधि, निरन्तर नवप्रवर्तन र विश्वस्तरीय उत्पादन मापदण्डमार्फत उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याइएको थियो ।
डिलर नेटवर्कको योगदानको कदर गर्दै कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना डिलरलाई विभिन्न विधामा सम्मान गरेको छ । राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स तथा लिट्मस एक्सिलेन्स अवार्डलगायतका विधामा पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै लिट्मस इन्डस्ट्रिजका प्रबन्ध निर्देशक रोहित गुप्ताले गुणस्तरमा कम्पनीले कहिल्यै सम्झौता नगर्ने बताए । उनले गुणस्तर नै लिट्मस ब्रान्डको आधार भएको उल्लेख गर्दै देशभर फैलिएको च्यानल पार्टनर नेटवर्कको विस्तारप्रति कम्पनी गौरवान्वित रहेको बताए । डिलरहरूको विश्वास र निरन्तर सहयोगले नयाँ प्रविधि अपनाउन, उत्कृष्ट उत्पादन मापदण्ड कायम राख्न तथा नेपालको उज्ज्वल भविष्य निर्माणमा सँगै अघि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो ।
कम्पनीका अनुसार लिट्मस इन्डस्ट्रिजको सफलता आफ्ना साझेदारहरूसँगको दीर्घकालीन र विश्वासिलो सम्बन्धमा आधारित छ । ‘पावर पार्टनर्स मिट २०८३’ ले साझा मूल्य सिर्जना, नवप्रवर्तन प्रवर्द्धन तथा नेपालको विद्युतीय र पूर्वाधार क्षेत्रको दिगो विकासमा योगदान पुर्याउने कम्पनीको प्रतिबद्धतालाई थप मजबुत बनाएको जनाएको छ ।
लिट्मस इन्डस्ट्रिज लिमिटेड नेपालकै सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनी हो। कम्पनी नेपालमा एल्युमिनियम तथा एलोय रड उत्पादन गर्ने एकमात्र उद्योगसमेत हो । पाँच दशकभन्दा लामो उत्पादन अनुभवसहित कम्पनीले पूर्वाधार, निर्माण, ऊर्जा तथा औद्योगिक क्षेत्रका लागि उच्च गुणस्तरका उत्पादन उपलब्ध गराउँदै आएको छ । आधुनिक उत्पादन प्रविधि, निरन्तर नवप्रवर्तन र उच्च गुणस्तरलाई प्राथमिकतामा राख्दै कम्पनीले नेपालभर आफ्ना उत्पादन विस्तार गर्नुका साथै क्षेत्रीय निर्यात बजारमा समेत उपस्थिति बढाउँदै आएको जनाएको छ ।











