Wednesday, October 28, 2026
spot_img

जलाशययुक्त आयोजनामा लगानी तथा प्रविधिमा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुुदाय समक्ष इप्पान अध्यक्ष डाँगीको आह्वान

spot_img

Share

spot_img

काठमाडाैँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ‘ट्रेड सो’ मा सहभागी हुन क्यानेडा पुगेका डाँगीले कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडासँग बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासमा रहेको अनुभव नेपालका लागि उपयोगी हुने हुँदा सहकार्य गर्न सकिने बताएका हुन् ।

अध्यक्ष डाँगीले नेपालमा जलविद्युत् विकासका लागि अपार सम्भावना रहेको उल्लेख गर्दै सुरक्षित, दिगो र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने जलविद्युत् आयोजना निर्माणमा नेपाल र क्यानडाबीच सहकार्यको ठूलो अवसर रहेको बताए । नेपालले पर्याप्त जलविद्युत् सम्भावना र विस्तार हुँदै गएको ऊर्जा बजार उपलब्ध गराउन सक्ने भएकाले दुवै देशका लागि दीर्घकालीन तथा पारस्परिक लाभदायक साझेदारीको अवसर रहेको उनले उल्लेख गरे । उनले नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार गर्न, ठूला जलाशययुक्त आयोजना विकास गर्न, बाँध सुरक्षालाई प्रभावकारी बनाउन तथा आधुनिक प्रविधिको उपयोग बढाउन क्यानडाको अनुभव महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे ।

सन् २००१ मा स्थापना भएको निजी ऊर्जा उत्पाकहरूको छाता संगठन इप्पानले नेपालको ऊर्जा क्षेत्रमा निजी लगानी प्रवर्द्धन र जलविद्युत् विकासका लागि निरन्तर काम गर्दै आएको अध्यक्ष डाँगीले बताए । ‘सन् १९९९ देखि जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएपछि नेपालको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भएको छ,’ उनले भने, ‘नेपालमा विद्युत् उत्पादनको कुल जडित क्षमता करिब ४.३ गिगावाट पुगेको छ, जसमध्ये ८० प्रतिशतभन्दा बढी क्षमता निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान छ ।’

नेपालको जलविद्युत् सम्भावना विशाल रहेको उल्लेख गर्दै अध्यक्ष डाँगीले सन् २०१९ मा जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको आकलन तथा अन्य विभिन्न अध्ययनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना रहेको बताए । रन अफ रिभर, पिकिङ रन अफ रिभर, जलाशययुक्त तथा पम्प्ड स्टोरेज आयोजना विकासमार्फत नेपाल दक्षिण एसियाको स्वच्छ तथा हरित ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उनको भनाइ थियो ।

नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पुर्याउने महत्त्वकांक्षी लक्ष्य लिएको बताउँदै डाँगीले यो लक्ष्य हासिल गर्न हालको क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको र यसमा निजी क्षेत्रको लगानी महत्त्वपूर्ण हुने पनि बताए । यस लक्ष्यले नेपालको बढ्दो आन्तरिक विद्युत् माग पूरा गर्नुका साथै छिमेकी मुलुकमा विद्युत् निर्यात विस्तार गर्ने अवसरसमेत सिर्जना गर्ने उनको भनाइ थियो । उत्पादन आयोजना, प्रसारण लाइन तथा अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधारको विकाससँगै नेपालले छिमेकी देशहरूमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको समेत उनले सम्मेलनमा जानकारी गराए ।

अध्यक्ष डाँगीले नेपालमा लगानी र अन्तर्राष्ट्रिय सहकार्यका लागि सम्भावना बोकेका प्रमुख आयोजनाहरूको चर्चा गर्दै तमोर जलाशय (७६२ मेगावाट), दूधकोशी जलाशय (६७० मेगावाट), बूढीगण्डकी जलाशय (१२०० मेगावाट) र माथिल्लो अरुण (१०६० मेगावाट) लगायत आयोजना महत्त्वपूर्ण भएको बताए । यी आयोजनासहित विकासको विभिन्न चरणमा रहेका अन्य आयोजनामा लगानी, आयोजना वित्त व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण तथा आधुनिक प्रविधिको प्रयोगका क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उनले बताए ।

नेपालको ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पहुँच पुगेको उल्लेख गर्दै अध्यक्ष डाँगीले जलविद्युतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, जनजीवनको गुणस्तर सुधार र स्वच्छ ऊर्जा व्यापार विस्तारमा योगदान पुर्याइरहेको बताए । क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउन सके नेपालले दक्षिण एसियामा स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा आफूलाई स्थापित गर्न सकिनेमा उनले जोड दिए । उनले जलविद्युत् आयोजना विकास, लगानी, अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणका क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, विकासकर्ता र प्राविधिक विज्ञलाई नेपालसँग सहकार्य गर्न आग्रह गरे ।

क्यानडा ड्याम एसोसिएसनले ‘टाइड्स अफ चेन्ज’ अर्थात् परिवर्तनका लहरहरू भन्ने मूल विषयमा आयोजना गरेको सम्मेलनको प्रशंसा गर्दै अध्यक्ष डाँगीले यस्ता अन्तर्राष्ट्रिय मञ्चले ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । बाँध सुरक्षा, जलवायु उत्थानशीलता र दिगो जलविद्युत् विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको पनि उनले बताए ।

कार्यक्रममा इप्पानका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, हालैको भोटेकोशी बाढीबाट प्राप्त महत्त्वपूर्ण पाठ तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img