Friday, March 28, 2025
spot_img

सुनकोसी मरिण डाइभर्सनको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

spot_img

Share

spot_img

राष्ट्रिय गौरवको बहुउद्देश्यीय आयोजना सुनकोसी मरिण डाइभर्सनको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । कुल १३.३ किलोमिटर लामो सुरुङको प्रधानमन्त्री पुष्पकमल दाहालले ‘ब्रेक थ्रु’ गरेका हुन् ।

सुरुङ ‘ब्रेक थ्रु’ का लागि मंगलबार नै दाहालसहित ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट सरकारका मन्त्रीहरू सिन्धुली पुगेका थिए ।

सुरुङ निर्माणका लागि टिबिएम प्रयोग गरिएका कारण १९ महिनामै खनेर छिचोलिएको हो । सुरुङको ‘ब्रेक थ्रु’ भएपछि अरु बाँकी काम पूरा गर्न अझै १ वर्ष लाग्ने छ । सुरुङ निर्माणको काम २०७९ असोज २८ गते सुरु भएको थियो ।

सुरुङ निर्माणको ठेक्का चाइना ओभरसिजले ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का पाएको थियो । सुरुङको ब्रेक थ्रु हुन लागे पनि बाँध तथा विद्युत् गृहको काम लक्ष्यअनुसार हुन सकेको छैन । बाँध तथा विद्युत गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले काम गरिरहेको छ । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न आयोजनाले पटक पटक निर्देशन दिएको छ । विसं २०८४ असोजमा सो आयोजना पूर्ण रुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

विद्युत प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी–मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बीपी राजमार्गको ९०० मिटर भाग सार्नुपर्ने भएको छ । सुनकोशी गाउँपालिका–७ कानढुङ्गीस्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा लगिनेछ ।

सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङमार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य छ ।

एक महिनामै १ हजार २०० मिटर सुरुङ मार्ग खनेर विश्व रेकर्ड राख्ने विषयमा समेत आयोजनाले छलफल गरिरहेको छ । भौगोलिक हिसाबले चुरे पहाड र महाभारत पर्वतमा पर्ने क्षेत्रमा पनि १ महिनामै १.२ किलोमिटर सुरुङ खनेकाले रेकर्डको लागि पहल भइरहेको बरालले बताए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन २० गते सुनकोशी मरिण डाइभर्सनको शिलान्यास गरेका थिए । आयोजनाको प्रारम्भिक लागत ४६ अर्ब १९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, वृद्धि भएर अहिले ४९ अर्ब ४२ करोड पुगेको छ ।

हालसम्म आयोजनामा १३ अर्ब खर्च भएको छ र ३० प्रतिशत भौतिक प्रगति भएको छ । गत आवमा ५ अर्ब ४१ करोड खर्च भएको थियो । बागमती सिँचाइ आयोजनाबाट सिँचाइ भइरहेको रौतहट र सर्लाहीको ४५ हजार ६०० हेक्टर र बारा, रौतहट, धनुषा र सर्लाहीका थप भूगाग गरी जम्मा १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरि सिँचाइ पुर्याउने आयोजनाको उद्देश्य छ । आयोजनाबाट ३१.०७ मेगावाट विद्युतसमेत उत्पादन गर्ने लक्ष्य छ ।

याे पनि पढ्नुहाेस्ः १३.३ किलोमिटर लामो सुनकोसी–मरिण डाइभर्सन सुरुङको आज ‘ब्रेक थ्रु’ हुँदै

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img