काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको छ ।
मंगलबार प्राधिकरणले लामो समयदेखि बक्यौता नतिरेका जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीज र त्रिवेणी स्पिनिङ मिल्सको लाइन काटेको हो ।
प्राधिकरणका अनुसार जगदम्बा स्टीलले एक अर्ब ६० करोड रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सले ७५ करोड ३७ लाख रुपैयाँ, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख रुपैयाँ, घोराही सिमेन्टले ५० करोड ८५ लाख रुपैयाँ, अर्घाखाँची सिमेन्ट इन्डस्ट्रीजले ४४ करोड ८४ लाख रुपैयाँ र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ विद्युत महसुल तिर्न बाँकी छ ।
प्राधिकरणका अनुसार किस्ताको सुविधा लिई पहिलो किस्ता तिरेमा काटिएको लाइन पुनः जडान गरिनेछ जनाएको छ ।








