काठमाडाैँ । आजदेखि नेपाल र बंगलादेशबीच ऊर्जा सचिवस्तरीय बैठक सुरु हुँदैछ । बैठकमा सहभागी हुन, नेपाल सरकारको ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौत नेतृत्वको टोली बंगलादेश पुगेका छन् । पहिलो दिन सहसचिवस्तरीय छलफल हुनेछ, र छलफलपछि भोली सचिवस्तरीय बैठकले निर्णयलाई औपचारिक स्वीकृति दिनेछ ।
प्रमुख एजेन्डामा ६८३ मेगावाट क्षमताको सुनकोशी–३ जलविद्युत आयोजना रहेकाे छ । नेपाल र बंगलादेशले उक्त आयोजना संयुक्त कम्पनी बनाएर विकास गर्ने विषयमा छलफल हुनेछ । सुनकोशी ३ परियोजनाको पूर्व-अध्ययन पूरा भइसकेको छ ।
यस आयोजना निर्माणका लागि अनुमानित लागत करिब १ खर्ब ६० अर्ब रुपैयाँ रहेकाे छ । ऊर्जा संकटको सामना गरिरहेको बंगलादेशले यसमा लगानी गरेर आफूलाई आवश्यक विद्युत् उपलब्ध गराउने याेजना छ । यसअघि ४० मेगावाटसम्म नेपालबाट बंगलादेशमा विद्युत् निर्यात भइरहेकाे छ ।
नयाँ सचिवस्तरीय बैठकमा, सुनकोशी–३ आयोजना अगाडि बढाउनुका साथै, नेपाल–बंगलादेश–भारत त्रिपक्षीय ढाँचामा दीर्घकालीन विद्युत् व्यापार र सम्भावित नयाँ प्रसारणलाइन र पावर एक्सचेन्ज नेटवर्कबारे छलफल हुनेछ ।
नेपालको काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा ५,५२० वर्ग किलोमिटर जलाधार क्षेत्र भएको सुनकोसी–३ जलाशययुक्त आयोजना हो । यो आयोजनामा काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका–९ र रामेछाप जिल्लाको काँडादेवी गाउँपालिका–१ को लुभुघाट बीचको सुनकोशी नदीमा १६० मिटर चौडा र १८० मिटर अग्लो बाँध निर्माण गर्नुपर्छ ।
नेपाल विद्युत् प्राधिकरणले गरेको आयोजनाको अध्ययनअनुसार बाँधबाट करिब ४०० मिटर टाढा तेमाल गाउँपालिका–९ स्थित तित्रेटारमा निर्माण हुने विद्युतगृहबाट दुईवटा पेनस्टकबाट ५७० घनमिटर प्रतिसेकेन्ड (क्युमेक) पानी प्राप्त गरी विद्युत् उत्पादन हुन्छ ।








