Tuesday, May 26, 2026
spot_img

रिज लाइन इनर्जीको पहिलो चरणको आईपीओ आजदेखि खुला

spot_img

Share

spot_img

काठमाडाैँ । रिज लाइन इनर्जी लिमिटेडले आजदेखि पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट कुल २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो । यसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याइएको छ ।

कम्पनीले गोरखा जिल्लाको अजिरकोट गाउँपालिकाका सम्पूर्ण वडा, लमजुङको दूधपोखरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ तथा दोर्दी गाउँपालिकाका वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दालाई शेयर निष्कासन गरेको छ । स्थानीय बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यस समूहका लागि आईपीओ छिटोमा पुस २८ गते र ढिलोमा माघ १२ गतेसम्म खुला रहनेछ ।

त्यस्तै, कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर निष्कासन गरेको छ । लगानीकर्ताले पनि न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ पुस १७ गतेसम्म खुला रहनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले कम्पनीको गोरखास्थित कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, कम्पनीद्वारा उपलब्ध गराइएको अनलाइन लिंक, प्रभु बैंकको छेपेटार शाखा (गोरखा) तथा पालुङटार शाखाबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र सिआस्वा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् । पहिलो चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाल लिमिटेडले ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ्ग दिएको छ। यसले समयमै वित्तीय दायित्व भुक्तानी गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।

रिज लाइन इनर्जी लिमिटेडले गोरखा र लमजुङ जिल्लामा ९.०५० मेगावाट क्षमताको सुपर चेपे खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८० माघदेखि व्यावसायिक उत्पादन गर्दै आएको छ। साथै कम्पनीले ११ मेगावाट क्षमताको दूधपोखरी चेपे जलविद्युत आयोजनामा पनि लगानी गरेको छ ।

कम्पनीले सञ्चालन गरेको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत आयोजनाको कुल लागत २ अर्ब ९ करोड ६० लाख रुपैयाँ रहेको छ।  जसअनुसार प्रतिमेगावाट लागत २३ करोड १६ लाख रुपैयाँ पर्छ । उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि अझै ३० वर्ष ११ महिना बाँकी रहेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img