काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र, सप्तरीका प्रमुख इन्जिनियर महेन्द्र कुमार दासलाई घुससहित पक्राउ गरेको छ ।
चार्जिङ स्टेशनका लागि ट्रान्सफर्मर जडान गरी लाइन उपलब्ध गराइदिने प्रयोजनमा सेवाग्राहीसँग घुस माग गरिएको भन्ने उजुरीका आधारमा इटहरीस्थित अख्तियारको टोली खटिएको थियो । सो क्रममा दासलाई सेवाग्राहीबाट १ लाख ४० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरिएको हो ।
उक्त टोलीले उनलाई सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ बाट नियन्त्रणमा लिएको जनाएको छ । पक्राउसँगै घुस रकम पनि बरामद गरिएको छ । अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








