काठमाडाैँ । सिँचाइ सुविधाको विस्तारसँगै बाँकेका किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । यसअघि अकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकामा अहिले त्यो अवस्था क्रमशः अन्त्य हुँदै गएको छ ।
विगतमा बर्खेधान स्याहारेपछि सिँचाइ अभावका कारण खेत बाँझै राख्ने किसानहरू अहिले भने धानपछि आलु वा तोरी खेती गर्दै त्यसलगत्तै वसन्ते मकै खेती गर्न थालेका छन् । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा वरिष्ठ बागवानी विकास अधिकृत सन्तोष पाठकका अनुसार सिँचाइ व्यवस्था सहज भएसँगै किसानको तीन बाली खेतीतर्फ आकर्षण बढेको छ । “आलु र वसन्ते मकैबाट किसानले नगद आम्दानीसमेत गर्न थालेका छन्,” उनले भने ।
उनका अनुसार बर्खेधानपछि गहुँ खेती गर्ने किसानहरू दुई बालीमा सीमित रहँदा गहुँको सट्टा तोरी वा आलुखेती गर्ने किसानले भने मकै खेतीसमेत गर्न भ्याएर तीन बाली उत्पादन गर्न सफल भएका छन् । गहुँको तुलनामा आलु र तोरी छिटो तयार हुने भएकाले त्यसपछि मकै खेती गर्न सहज हुने उनले बताए ।
कृषि ज्ञान केन्द्रले सिञ्चित क्षेत्र लक्षित बाली सघनता वृद्धि कार्यक्रमअन्तर्गत तीन बाली खेती गर्ने किसानलाई वसन्ते मकैको बिउ तथा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।
जिल्लामा हाल बर्खेधान ३३ हजार ७८० हेक्टर, गहुँ २० हजार ८९५ हेक्टर, वसन्ते मकै तीन हजार ५०० हेक्टर, आलु तीन हजार २५० हेक्टर, तोरी छ हजार ५३० हेक्टर र हिउँदे मकै १३५ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ ।
यसैबीच, सिक्टा सिँचाइ आयोजनाबाट नहरमा नियमित पानी आपूर्ति हुन थालेपछि खेती गर्न थप सहज भएको छ। आयोजनाका निर्देशक राजु आचार्यका अनुसार राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखेको छ। चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगिसकेको छ ।
सिक्टा सिँचाइको पहुँच नपुगेका क्षेत्रमा भने कृषि ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा सहकारी तथा कृषक समूहलाई बोरिङ वितरण गरेर सिँचाइ सुविधा विस्तार गर्दै आएको छ ।
अखिल नेपाल किसान महासंघ बाँकेका अध्यक्ष कृष्णविक्रम केसीले सिँचाइको नियमित सुविधा सुनिश्चित हुन सके बाँकेका किसानले तीन बाली खेतीमार्फत उत्पादन वृद्धि गरी आर्थिक समृद्धि हासिल गर्न सक्ने बताए ।








