काठमाडाैँ । १२६ मेगावाटको तल्लो सेती जलविद्युत् आयोजनाको प्रवेश सुरुङ निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको आयोजना तनहुँको देवघाट गाउँपालिका–४ मा निर्माण हुँदैछ ।
आयोजना प्रवर्द्धक तनहुँ हाइड्रो पावर लिमिटेडले सुरुङ निर्माणका लागि काठमाडौंस्थित आर.के. हाइड्रो इञ्जिनियरिङ एण्ड एशोसिएट्स प्रालिसँग ठेक्का सम्झौता गरेको हो । यद्यपि विसं २०८० फागुन ७ गते सम्झौता भए पनि विस्फोटक पदार्थ प्रयोगसम्बन्धी अनुमति प्रक्रियामा ढिलाइ हुँदा निर्माण कार्य अघि बढ्न सकेको थिएन । आवश्यक स्वीकृति प्राप्त भएपछि अहिले सुरुङ निर्माण सुरु गरिएको आयोजना प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रवेश सुरुङ आयोजना निर्माणको प्रारम्भिक र महत्वपूर्ण संरचना हो । यसले मुख्य संरचना निर्माण, भूगर्भीय अध्ययन तथा पहुँच व्यवस्थापनमा सहयोग पुर्याउनेछ ।
तल्लो सेती आयोजना ‘पिकिङ रन अफ द रिभर’ प्रकृतिको अर्धजलाशययुक्त आयोजना हो । आयोजनाबाट वार्षिक ५२०.७८ करोड युनिट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका क्षेत्रमा पर्ने सारङघाट नजिक सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । बाँधबाट करिब १२.७ किलोमिटर लामो जलाशय बन्नेछ । सञ्चित पानीलाई ६.७५ किलोमिटर लामो सुरुङमार्फत देवघाट गाउँपालिका–४ स्थित गाईघाटमा निर्माण हुने अर्धभूमिगत विद्युत्गृहमा पुर्याइने योजना छ ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन एसियाली विकास बैंकको अनुदान सहयोगमा तयार गरिएको हो । आयोजनाको अनुमानित लागत २२७ मिलियन अमेरिकी डलर रहेको छ । कुल लागतको ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत ऋणमार्फत वित्तीय व्यवस्थापन गर्ने अवधारणागत निर्णय भइसकेको आयोजना पक्षले जनाएको छ ।
विद्युत्गृह तथा कर्मचारी आवास निर्माणका लागि आवश्यक करिब १४६ रोपनी जग्गा अधिग्रहण प्रक्रिया पनि अघि बढाइएको छ ।
आयोजना सञ्चालनमा आएपछि हिउँदयाममा दैनिक न्यूनतम ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिने जनाइएको छ । माथिल्लो क्षेत्रमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाबाट निस्कने पानीको उपयोग गर्ने भएकाले तल्लो सेती आयोजना ‘क्यास्केड’ आयोजनाका रूपमा महत्वपूर्ण मानिएको छ ।
यस आयोजनाले तनहुँ जलविद्युत् आयोजनाकै प्रसारण लाइन प्रयोग गर्न सक्ने भएकाले अतिरिक्त प्रसारण पूर्वाधार निर्माणको आवश्यकता नपर्ने बताइएको छ । साथै काठमाडौं र भरतपुरजस्ता प्रमुख विद्युत् खपत केन्द्र नजिक भएकाले आयोजना लागत प्रभावकारी र व्यावसायिक रूपमा उपयुक्त हुने अपेक्षा गरिएको छ ।
ग्रिड कनेक्सन सम्झौता सम्पन्न भइसकेको र विद्युत् खरिद सम्झौता प्रक्रिया अगाडि बढिरहेको आयोजनाले जनाएको छ । विद्युत्गृह क्षेत्रमा पहुँचका लागि त्रिशूली नदीमाथि पक्की पुल निर्माण आवश्यक रहेको र त्यसका लागि करिब ३७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अन्तिम स्वीकृतिका लागि वन मन्त्रालयमा दस्तुर बुझाइसकिएको छ । साथै जापान अन्तरराष्ट्रिय सहयोग नियोगसँग वित्तीय सहयोगका लागि पहल भइरहेको तथा एसियाली विकास बैंकले सन् २०२७ मा आयोजना कार्यान्वयनका लागि पाइपलाइनमा समावेश गरेको आयोजनाले जनाएको छ ।








