Wednesday, May 13, 2026
spot_img

कोहलपुर–सुर्खेत लाइनका टावर ढल्दा कर्णालीमा विद्युत् प्रभावित

spot_img

Share

spot_img

काठमाडौँ । कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइनअन्तर्गत बाँकेको चिसापानी क्षेत्रमा रहेका दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेको छ । घटनापछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मर्मत तथा छानबिन कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

मन्त्री श्रेष्ठको सचिवालयले नेपाल विद्युत् प्राधिकरणसहित सम्बन्धित कार्यालयहरूसँग समन्वय गर्दै टावर पुनर्निर्माण गरी विद्युत् सेवा सुचारु गर्न पहल गरिरहेको जनाएको छ ।

प्राधिकरणका अनुसार हावाहुरीका क्रममा रुख ढल्दा दुई वटा १३२ केभी क्षमताका टावर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन् । घटनापछि प्राधिकरणले ग्रिड अप्रेसन प्रमुख रमणराज शर्माको संयोजकत्वमा छानबिन समिति गठन गरिसकेको छ ।

क्षतिग्रस्त टावर निर्माणको जिम्मा आर एस इन्फ्रा कम्पनीले लिएको थियो । प्रारम्भिक अध्ययनअनुसार टावरको फाउन्डेसन नै पुनः निर्माण गर्नुपर्ने अवस्था देखिएको प्राधिकरणले जनाएको छ । मर्मत तथा पुनःस्थापनाको काम सम्पन्न गर्न करिब तीन साता लाग्ने अनुमान गरिएको छ ।

१३२ केभी प्रसारण लाइन अवरुद्ध भएपछि कर्णाली प्रदेशमा विद्युत् आपूर्ति कायम राख्न वैकल्पिक रूपमा पुरानो ३३ केभी प्रसारण लाइनमार्फत सीमित विद्युत् सेवा दिइएको छ । तर उक्त लाइनको क्षमता कम भएकाले विद्युत् सेवा पूर्ण रूपमा सामान्य हुन सकेको छैन ।

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको दीर्घकालीन विद्युत् समस्या समाधान गर्ने उद्देश्यसहित निर्माण गरिएको महत्वपूर्ण पूर्वाधार आयोजना हो । लाइन अवरुद्ध भएपछि कर्णालीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको प्राधिकरणले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img