काठमाडाैँ । नेपाल घरेलु तथा साना उद्योग महासंघको २६औँ राष्ट्रिय महाधिवेशन तथा २३औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनबाट नवीकरणीय ऊर्जा क्षेत्रको प्रतिनिधित्व गर्दै केन्द्रीय उपाध्यक्षमा गुणराज ढकाल निर्वाचित भएका छन् । ढकालले घरेलु तथा साना उद्योगमा नवीकरणीय ऊर्जाको प्रयोग विस्तार गर्दै हरित औद्योगिकीकरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले प्राप्त विश्वास र जिम्मेवारीलाई आत्मसात् गर्दै आगामी कार्यकालमा घरेलु तथा साना उद्योगको प्रवर्द्धन, उद्योग क्षेत्रमा नवीकरणीय ऊर्जाको प्रभावकारी उपयोग, नीतिगत सुधार तथा दिगो औद्योगिक विकासका लागि सक्रिय रूपमा काम गर्ने बताएका छन् ।
उनका अनुसार नेपालको हरित औद्योगिकीकरण (Green Industrialization) लाई सफल बनाउन घरेलु तथा साना उद्योगमा स्वच्छ, भरपर्दो र किफायती ऊर्जाको पहुँच विस्तार अपरिहार्य छ । यही लक्ष्यलाई केन्द्रमा राखेर आगामी कार्यकाल उद्योगीहरूको हकहित संरक्षण, ऊर्जा पहुँच विस्तार तथा नवीकरणीय ऊर्जा प्रवर्द्धनमा केन्द्रित हुने उनले उल्लेख गरेका छन् ।
उनले उद्योग क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न ऊर्जा दक्षता, स्वच्छ प्रविधि र नवीकरणीय ऊर्जा प्रयोगलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
निर्वाचित उपाध्यक्षले आगामी कार्यकाल सफल बनाउन सबै उद्योगी, उद्यमी तथा सरोकारवालाको निरन्तर साथ, सुझाव र सहकार्यको अपेक्षा गर्दै उद्योग क्षेत्रको दिगो विकासका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।








