Friday, July 10, 2026
spot_img

७.६३ मेगावाटको जुरिम्बाको निर्माण तीव्र, २०८३ भित्र उत्पादन लक्ष्य

spot_img

Share

spot_img

काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ र ३ मा निर्माणाधीन ७.६३ मेगावाट क्षमताको जुरिम्बा खोला साना जलविद्युत् आयोजनाको काम तिव्र गतिमा अघि बढेको छ । जुरिम्बा हाइड्राे पावर कम्पनीले २०८३ भित्र सम्पन्न गर्ने लक्ष्यका साथ सबै संरचनाको काम गरिरहेको छ ।

गौरीशंकर संरक्षण क्षेत्रभित्र रहेको आयोजनाले हाल बाढी नियन्त्रण पर्खाल (फ्लड वाल), हेडवर्स्क र सेटलिङ बेसिन निर्माणलाई प्राथमिकताका साथ अघि बढाइरहेको आयोजना प्रमुख प्रमेश थापाले बताए ।

उनका अनुसार फ्लड वाल निर्माण करिब ७०/८० प्रतिशत सम्पन्न भइसकेको छ भने हेडवर्स्क र सेटलिङ बेसिनको उत्खनन कार्य जारी छ । आगामी चारदेखि पाँच महिनाभित्र मुख्य संरचनाहरू सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सम्पूर्ण आयोजना वि.सं. २०८३ भित्र सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोड्ने तयारीका साथ काम भइरहेको उनले बताए ।

करिब १ अर्ब ८६ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको वित्तीय संरचनामा ६६ प्रतिशत बैंक ऋण र ३४ प्रतिशत स्वपूँजी रहेको छ । प्राइम बैंकको नेतृत्वमा एक वर्षअघि नै वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । अहिले स्वपूँजी बढाएर बैंक ऋण घटाउने रणनीतिअनुसार प्रवर्द्धक शेयर बिक्री खुला गरिएको छ । प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्री भइरहेको प्रवर्द्धक शेयरबाट संकलित पूँजीले ब्याज खर्च घटाई आयोजनाको वित्तीय अवस्था थप मजबुत बनाउने कम्पनीको विश्वास छ ।

प्रवर्द्धक शेयर खरिद प्रक्रिया डिजिटल माध्यमबाट सहज बनाइएको कम्पनीले जनाएको छ । इच्छुक लगानीकर्ताले अनलाइनमार्फत आवेदन फाराम भर्न, बैंकमा रकम जम्मा गरी भौचर तथा आवश्यक कागजात ह्वाट्सएपमार्फत पठाउन सक्ने व्यवस्था गरिएको छ । कम्पनीले प्रवर्द्धक शेयर संकलनपछि आगामी मंसिर/पुसतिर सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने लक्ष्य राखेको जनाएको छ ।

प्राविधिक रूपमा आयोजना ८२७ मिटर ‘हेड’ मा आधारित छ । आयोजनामा ३.५ किलोमिटर लामो पेनस्टक पाइप र ६.६ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछ, जसमार्फत उत्पादित विद्युत् बाह्रबिसे सबस्टेसनमा जोडिनेछ ।

निर्माण कार्य सन्तोषजनक रूपमा अघि बढे पनि सरकारी निकायबाट अनुमति तथा प्रशासनिक प्रक्रिया पूरा गर्न लाग्ने समय आयोजना कार्यान्वयनको प्रमुख चुनौती बनेको थापाको भनाइ छ । एउटै फाइल स्वीकृत हुनसमेत लामो समय लाग्ने अवस्था रहेको उल्लेख गर्दै यस्ता प्रक्रियागत ढिलाइले आयोजना प्रभावित हुने जनाएको छ । यस्तै, लप्सीफेदी सबस्टेसन निर्माणमा भइरहेको ढिलाइले भविष्यमा विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने कार्य प्रभावित हुन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ ।

दुर्गम भूगोलका कारण सुरुआती चरणमा पूर्वाधार तथा बसोबासको पर्याप्त सुविधा नहुँदा प्राविधिक जनशक्ति, विशेषगरी महिला इन्जिनियरलाई आयोजना स्थलमा दीर्घकालसम्म कार्यरत राख्न चुनौती रहेको कम्पनीको अनुभव छ । त्यसका बावजुद आयोजनाको नेतृत्व प्रबन्ध निर्देशक सृजना पुनले सम्हालिरहेकी छन्, जसले समावेशी नेतृत्वलाई समेत प्राथमिकता दिएको कम्पनीले जनाएको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजनाले भोटेकोशी गाउँपालिका–१ र ३ मा सडक तथा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । आयोजनामा हाल करिब १०० जना कार्यरत छन् । प्राविधिक जनशक्तिबाहेक स्थानीय बासिन्दालाई टिपर, एक्साभेटर सञ्चालन तथा अन्य उपठेक्का कार्यमा प्राथमिकता दिइएको थापाले बताए ।

आयोजनाले स्थानीय समुदायसँगको सहकार्य, वित्तीय व्यवस्थापन र निर्माण प्रगतिलाई हेर्दा तोकिएको समयमै विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य प्राप्त हुने विश्वास व्यक्त गरेको छ । यद्यपि, प्रसारण लाइनको सुनिश्चितता र सरकारी प्रक्रियामा हुने ढिलाइ समयमै समाधान हुनुपर्नेमा कम्पनीले जोड दिएको छ ।

आयोजना ६ घण्टा पिकिङ–रन अफ रिभर (Peaking Run-of-River) प्रकृतिको हो, जसले विद्युत्को उच्च माग हुने समयमा दैनिक करिब ६ घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img