काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपालले हिमाल संरक्षण, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन् ।
बिहीबार आयोजित नेशनल क्लाइमेट समिटमा बोल्दै उनले नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलनमा समस्या र क्षतिको विवरण प्रस्तुत गर्नेमात्र नभई ठोस उपलब्धि हासिल गर्ने लक्ष्यसहित सहभागी हुनुपर्ने बताए ।
हिमनदी तीव्र गतिमा पग्लिनु नेपालका लागि गम्भीर चुनौती बनेको उल्लेख गर्दै उनले हिमाल संरक्षणलाई साझा अन्तर्राष्ट्रिय जिम्मेवारीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए । भोटेकोशी र त्रिशूलीलगायतका क्षेत्रमा भएका विपद्बाट सिक्दै पूर्वसूचना प्रणाली, सुरक्षित पूर्वाधार, जोखिम न्यूनीकरण तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग जुटाउनुपर्ने उनको भनाइ छ ।
पराजुलीले जलवायु वित्तमा सहज पहुँच, प्रभावित समुदायसम्म सहयोगको सुनिश्चितता, प्रविधि हस्तान्तरण र अनुदानमा आधारित जलवायु सहायता नेपालको प्रमुख वार्ता एजेन्डा हुनुपर्ने बताए । साथै, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्न पनि कोप सम्मेलन र द्विपक्षीय बैठकको उपयोग गर्नुपर्ने उनले उल्लेख गरे ।
‘हाम्रो सहभागिता केवल प्रतिबद्धता व्यक्त गर्नमा सीमित नभई प्रभावित नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने परिणाममुखी हुनुपर्छ,’ उनले भने ।











