काठमाडाैँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन ३० मेगावाटको सुपर सेती जलविद्युत् आयोजनाको निर्माण कार्यले गति लिन थालेको छ । आयोजनाको ठेक्का पाएको हिमालयन इन्फ्रास्ट्रक्चर प्रालिले औपचारिक रूपमा आजदेखि निर्माण कार्य सुरु गरेको जनाएको छ । आयोजनाको सुरुङ निर्माणको काम भने यसअघि नै सुरु भइसकेको छ ।

एसएन इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाकाे विद्युतगृह, पेनस्टक, बाँध क्षेत्रको काम आज (कात्तिक १२ गते) देखि सूरु गरेको ठेकेदार कम्पनीका सञ्चालक लक्षण खड्काले बताए । आयोजनाको निर्माण कार्य बर्खाका कारण सामग्री ढुवानीलगायतका काममा समस्या हुने भएकाले औपचारिक रूपमा अघि बढाउन केही समय लागेको उनकाे भनाइ छ । आयोजनाको ठेक्का सम्झौता साउनमै भए पनि वर्षायाममा हुने ढुवानीसम्बन्धी कठिनाइलाई ध्यानमा राखेर अहिले निर्माण कार्य अघि बढाइएको उनले जानकारी दिए ।

हिमालयन इन्फ्रास्ट्रक्चरले यसअघि पाँचवटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ । कम्पनीले सुपर सेती आयोजनाको निर्माण पनि निर्धारित समयभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाएको जनाएको छ ।

यसैबीच, आयोजनाको निर्माणका लागि आवश्यक ऋण लगानीसमेत जुटेको छ । एसएन इनर्जी लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानिमा बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जाअन्तर्गत सिद्धार्थ बैंकले समेत लगानी गर्ने भएका छन् । यससम्बन्धी ऋण लगानी सम्झौता आयोजनाको प्रवर्द्धक कम्पनी र बैंकहरूबीच भएको हो ।
सम्झौताअनुसार सानिमा बैंकले २ अर्ब ५० करोड रुपैयाँ र सिद्धार्थ बैंकले १ अर्ब २८ करोड रुपैयाँ कर्जा प्रवाह गर्नेछन् । यसरी दुई बैंकबाट आयोजनाले कुल ३ अर्ब ७८ करोड रुपैयाँ ऋण प्राप्त गर्नेछ ।

आयोजनाको कुल लागत ५ अर्ब ४ करोड रुपैयाँ अनुमान गरिएको छ । लगानी संरचनाअनुसार आयोजनामा २५ प्रतिशत प्रवर्द्धकको स्वपुँजी र ७५ प्रतिशत बैंकको ऋण रहनेछ ।
आयोजनाको निर्माण अवधि तीन वर्ष तोकिएको छ । कम्पनीले २०८४ कात्तिकदेखि विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ । क्षमता विस्तारको योजना सफल भएमा आयोजनाबाट थप विद्युत् उत्पादन गर्न सकिनेछ ।

आयोजनाको प्रवर्द्धक एसएन इनर्जी लिमिटेडमा नेको इन्स्योरेन्सको २० प्रतिशत स्वपुँजी लगानी रहेको छ । सुपर सेती जलविद्युत् आयोजना सम्पन्न भई सञ्चालनमा आएपछि नेपालको विद्युत् उत्पादन क्षमता वृद्धि गर्न तथा जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको लगानी विस्तार गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ ।











