स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा आयोजनाहरूका लागि छुट्टै सुरक्षा नीति बनाउन माग गरेको छ । बुधबार उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेसँग भेट गर्दै इप्पानले जलविद्युत् लगायतका ऊर्जा आयोजनाका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन माग गरेको हो ।
गृह मन्त्रालयमा भएको भेटमा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जा आयोजनामा धेरै खालका सुरक्षा जोखिम रहेको भन्दै यसको समाधानका लागि छुट्टै ऊर्जा सुरक्षा नीति बनाएर लागु गर्न माग गरेका हुन् । कार्कीले प्रसारण लाइन निर्माणको अवरोधले जलविद्युत् आयोजनाहरू प्रत्यक्षरूपमा प्रभावित भइरहेको भन्दै प्रसारण लाइन निर्माणमा हुने अवरोध अन्त्य गर्न पनि गृहमन्त्री लामिछानेसँग आग्रह गरे ।
भेटमा उपप्रधान एवम् गृहमन्त्री लामिछानेले ऊर्जा सुरक्षा नीति बनाएर ऊर्जा व्यवसायीलाई सुरक्षा दिने विषयमा आफू प्रतिबद्ध रहेको बताए । मन्त्री लामिछानेले ऊर्जा आयोजना निर्माण गर्दा जग्गा प्राप्ति र अधिग्रहणमा गृह मन्त्रालयको साथ चाहिएमा मन्त्रालयले सधैं सहयोग गर्ने पनि बनाए । उनले ऊर्जा व्यवसायीमाथि चन्दा आतंक छ भने मन्त्रालयलाई गुहार्न पनि आग्रह गरे ।