काठमाडौँ । विद्युत् उत्पादन कम्पनी (भियूसीएल) ले मझौला तथा उच्च क्षमताका करिब दर्जन जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । भियुसीएलले ४ हजार मेगावाट बढी क्षमताका आयोजनाको काम अघि बढाएको छ ।
कम्पनीले ४८० मेगावाटको फुकोट आंशिक जलाशयुयुक्त, १ हजार ९०२ मेगावाटको मुगु कर्णाली, ४५४ मेगावाटकोे किमाथांका अरुणलगायतका जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ ।
फुकोट कर्णालीको काम भारतीय कम्पनी एनएचपीसीसँग मिलेर अगाडि बढाउन लागिएको छ । सो आयोजना अगाडि बढाउने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भइसकेको छ । कम्पनीले ४० मेगावाट क्षमताको सौर्य परियोजना समेत अगाडि बढाएको छ ।
कम्पनीले सहायक कम्पनीको रुपमा रहेको जगदुल्ला हाइड्रो पावर कम्पनीमार्फत दुई आयोजना अघि बढाएको छ । १०६ मेगावाटको जगदुल्ला र १२० मेगावाटको जगदुल्ला क्यासकेडको निर्माण प्रक्रिया अघि बढेको छ । जगदुल्लाको बुधबार (जेठ ३ गते) मात्रै वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
यसैगरी, नेपाल विद्युत् प्राधिकरण र विद्युत् विकास विभागले अध्ययन गरिरहेका आयोजनालाई कम्पनी मातहत ल्याएर विस्तृत अध्ययन तथा आवश्यक काम गरिरहेको छ । सोही कम्पनी मातहतमा नै रहने गरी जाजरकोटामा आयोजनास्थल रहेको ४१७ मेगावाट क्षमताको नलगाड जलविद्युत् परियोजनासमेत निर्माणमा जाने तयारीमा छ ।
यसैगरी, ७०.३ मेगावाटको सिम्बुवा खोला, ७७.५ मेवा क्षमताको घुन्सा खोला पनि विद्युत् उत्पादन कम्पनी मातहत नै अघि बढेका छन् ।
कर्मचारी सञ्चय कोषको सहायक कम्पनीले अगाडि बढाएको ४३९ मेगावाटको बेतन कर्णाली आयोजनाको व्यवस्थापन र सेयर लगानीमा समेत विद्युत् उत्पादन कम्पनी नै जोडिएको छ । बेतन कर्णालीमा कम्पनीको १० प्रतिशत बराबरको सेयर स्वामित्व छ ।