काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ भित्र विद्युत् जडित क्षमता ४ हजार ५०० मेगावाट पुर्याउने घोषणा गरेका छन् । आज (जेठ १५ गते) अर्थमन्त्री पुनले दुवै सदनमा आगामी आर्थिक २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । यसैगरी, प्रतिव्यक्ति खपत ४५० युनिट पुर्याइने भएकाे छ ।
आगामी आवभित्र बंगलादेशमा पनि विद्युत् निर्यात गर्ने व्यवस्था मिलाउने घोषणा गरेका छन् । यसैगरी, निजी क्षेत्रलाई लगानी आकर्षण गर्न जलाशययुक्त जलविद्युत् आयोजनाको बाँध र विद्युत्गृह छुट्टा छुट्टै प्रवद्र्धकबाट निर्माण गर्ने सकिने व्यवस्था गरिने घोषणा गरेका छन् ।
सुख्खायाममको मागलाई पुरा गर्न १२०० मेगावाटको बुढीगण्डकी ६७० मेगावाटको दुधकोसी र ४५० मेगावाटको नलगाड जलविद्युत् आयोजना तथा २८० मेगावाटको नौमुरे बहुउदेश्यीय आयोजनाको निर्माण सुरु गरिनेछ । वैदेशिक रोजगारीमा भएकाहरुको लगानीमा ७७.५ मेगावाटको घुन्सा र ७० मेगावाटको सिम्बुवाको पनि निर्माण प्रक्रिया अघि बढाइनेछ ।
जनताको जलविद्युत् आयोजना अन्तर्गत १०६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगावाटको जगदुल्ला, १०० मेगावाटको तामाकोसी ५, ४२ मेगावाटको मोदी ए र चैनपुर सेतीको निर्माण अगाडि बढाइनेछ ।
सुनकोसी ३ को विस्तृत अध्ययन गरी निर्माण अघि बढाइनेछ । १०८०० मेगावाटको चिसापानी कर्णाली आयोजनाको विस्तृत इन्जिनियरीङ डिजाइन कार्य सुरु गरिनेछ ।