काठमाडौँ । धादिङको रुबीभ्याली गाउँपालिकामा निर्माण हुने २३.६७ मेगावाटको इलेप खोला जलविद्युत् आयोजनामा सानिमाका अगुवाईमा ४ बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । आयोजनामा लगानी गर्न बैंक तथा प्रवर्द्धक जलशक्ति हाइड्रो पावर कम्पनी लिमिटेडबीच सम्झौता भएको छ ।
आयोजनामा सानिमाको अगुवाईमा नेपाल एसबिआई, एभरेष्ट बैंक, सग्रिला डेभलपमेन्ट बैंकले ऋण लगानी गर्ने गरी सम्झौता भएको छ ।
कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पिपिए) गरिसकेको छ । सम्झौताअनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् सुख्खायाम (१६ मंसिर–१५ जेठ) र वर्षायाम (१६ जेठ–१५ मंसिर)मा प्रतियुनिट क्रमशः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ ।
आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यवृद्धि (स्केलेसन) पाउने छ । आयोजनाबाट वार्षिक रूपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।
आयोजना निर्माण सुरु भएको ३ वर्षभित्रमा सक्ने लक्ष्य राखिएको छ । आयोजनाबाट उत्पादन भएको विद्युत् विद्युतगृहदेखि ३२ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको त्रिशुली–३‘बी’ सबस्टेसनमा जोडिनेछ ।