काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको काम सम्पन्न गरी परीक्षण भइरहेको छ ।
आयोजनाको सिभिल, हाइड्रो मेकानिकल तथा प्रसारण लाइन निर्माणको सम्पूर्ण काम सकिएर अहिले परीक्षण भइरहेको कम्पनीले जानकारी दिएको छ ।
२०७७ भदौदेखि निर्माण सुरु भएको थियो । सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी विद्युतगृहमा रहने १२.५ मेगावाट क्षमताका दुई वटा टर्वाइनमा खसालिनेछ ।
आयोजनाको दुई सातापछि परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्दा आयोजनाबाट विद्युत उत्पादन गर्ने अवधि २०७९ साउनको अन्तिमलाई तोकिएको थियो तर पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका कारण निर्माण अवधि एक वर्ष लम्बिएको छ ।
सोही अनुसार विद्युत उत्पादन गर्नुपर्ने मिति (आरसिओडी) २०८० साउन ४ गतेलाई तोकिएपनि केही समय धकेलिने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट उत्पादित विद्युत ५ किलोमिटर दूरीमा रहेको प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनको आवश्यक १३२ केभी डबल सर्किट प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ ।
आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् ।
एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।
विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा किन्ने गरी विद्युत खरिद सम्झौता (पिपिए) गरेको छ ।