काठमाडौँ । हाइड्रो इलेक्ट्रिसिटी एन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल) ले जलविद्युत् आयोजनामा करिब ५४ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता गरेको छ । कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँगको सहकार्यमा जलविद्युत् प्रवर्द्धकहरूले अघि बढाएको आयोजनामा यति लगानी गर्ने प्रतिवद्धता गरेको हो ।
कम्पनीले हालसम्म ४० आयोजनामा लगानी गर्न ५४ अर्ब १४ करोड रुपैयाँ ऋण स्वीकृत गरिसकेको छ । जसमध्य १३ अर्ब ७५ करोड रुपैयाँ ऋण प्रवाह गरिसकेको छ ।
कम्पनीले स्वीकृत गरेको मध्ये अझै ४० अर्ब ३९ करोड रुपैयाँ प्रवाह हुन बाँकी रहेको छ । स्वीकृत लगानीको रकम अपेक्षाअनुसार समयमा प्रवाह हुन नसक्दा बैंक मौज्दातमा वृद्धि भएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीबाट जलविद्युत् परियोजनामा प्रवाह भएको कर्जामध्ये ७ अर्ब १४ करोड कर्जा बाँकी रहेको जनाइएको छ । साथै, सञ्चालनमा रहेका आयोजनाहरूबाट कर्जा भूक्तानी नियमित रुपमा भइरहेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले आफ्नो सहायक कम्पनीमार्फत अघि बढाएको घुन्सा खोला र सिम्बुवा ओला जलविद्युत् आयोजनाको सेयर संरचनामा नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनी लिमिटेडलाई समेत सहभागि गराई सेयर संरचना परिवर्तन गरेको छ । अहिले यी आयोजनाहरू निर्माण पूर्वको चरण सम्पन्न गरी निर्माण चरणमा प्रवेश गर्ने तयारीमा रहेका छन् ।