Thursday, September 24, 2026
spot_img

प्रसारण र वितरण प्रणाली सुधारलाई उच्च प्राथमिकता दिन मन्त्री श्रेष्ठको निर्देशन

spot_img

Share

spot_img

काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नेपाल विद्युत प्राधिकरणलाई नतिजामुखी ढंगले अघि बढाउँदै विद्युत सेवा थप भरपर्दो, गुणस्तरीय र ग्राहक केन्द्रित बनाउन निर्देशन दिएका छन् ।

प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठलाई बुधबार पद तथा गोपनीयताको शपथ गराउँदै मन्त्री श्रेष्ठले राज्यका निकाय जनताका सेवक भएकाले सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवार ढंगले काम गर्नुपर्ने बताए ।

मन्त्री श्रेष्ठले त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध भई पुनः सञ्चालनमा आएको विद्युत प्रणालीलाई दीगो र भरपर्दो बनाउन विशेष ध्यान दिन निर्देशन दिए । आगामी दिनमा विद्युतको माग र आपूर्तिको नियमित विश्लेषण तथा प्रक्षेपण गरी घरेलु, औद्योगिकलगायत सबै ग्राहकले २४सै घण्टा, सातै दिन र वर्षभर गुणस्तरीय तथा भरपर्दो विद्युत प्राप्त गर्ने अवस्था सुनिश्चित गर्नुपर्ने उनको भनाइ थियो ।

विषम परिस्थितिमा उपलब्ध स्रोत, साधन र जनशक्तिको पारदर्शी, मितव्ययी, दक्ष र उच्चतम उपयोग गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राधिकरणको कार्यसम्पादनको महत्वपूर्ण आधार बनाउन निर्देशन दिए ।

उनले विद्युत प्रसारण लाइन निर्माण तथा वितरण प्रणालीको सुधारलाई उच्च प्राथमिकतामा राख्न, रणनीतिक महत्वका आयोजनाको निर्माणलाई गति दिन तथा विपद्का कारण क्षतिग्रस्त विद्युत आयोजनाको पुनर्निर्माणमा अग्रसरता देखाउन पनि निर्देशन दिए ।

मन्त्रालय, प्राधिकरण तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गरी राज्यका संरचनालाई थप बलियो, उत्तरदायी र परिणाममुखी बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ थियो ।

हालैका विपद्का कारण ऊर्जा क्षेत्रमा उत्पन्न चुनौतीको सामना गर्न प्राधिकरणको आधारभूत तहदेखि नेतृत्व तहसम्म जिम्मेवारीपूर्वक खटिएका कार्यकारी निर्देशक श्रेष्ठले आगामी दिनमा पनि सोही प्रतिबद्धताका साथ काम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा मन्त्रालयका निमित्त सचिव डा. जगदीश कर्माचार्यले नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठलाई बधाई दिँदै सरकारले उनको विज्ञता र योग्यतालाई आधार बनाएर जिम्मेवारी दिएको बताए । उनको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणले आगामी दिनमा थप प्रभावकारी उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै निमित्त सचिव कर्माचार्यले विपद्का कारण भएको जनधनको क्षति र त्यसबाट सिर्जित चुनौतीबीच प्राप्त नेतृत्वले सबै समस्यालाई सामना गर्दै संस्थालाई अघि बढाउनुपर्नेमा जोड दिए ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img