Tuesday, September 22, 2026
spot_img

१८० मेगावाटको कालीगण्डकी ‘गर्ज’: चार ठाउँबाट मुख्य सुरुङ खन्ने तयारी

spot_img

Share

spot_img

काठमाडाैँ । १८० मेगावाट क्षमताको कालीगण्डकी ‘गर्ज’ जलविद्युत् आयोजनाले निर्माणलाई तीव्रता दिएको छ । आयोजनाको मुख्य संरचनासम्म पुग्ने अडिट सुरुङ निर्माण सुरु भएसँगै अब चारवटा बिन्दुबाट एकैसाथ मुख्य सुरुङ खन्ने तयारी गरिएको छ ।

कालीगण्डकी गर्ज हाइड्रो पावर प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, घरापस्थित प्रस्तावित विद्युत्‌गृह निर्माणस्थलबाट मुख्य सुरुङसँग जोडिने अडिट सुरुङ निर्माण थालेको हो ।

आयोजनाका सामाजिक विकास, प्रशासन तथा जनसम्पर्क विभागका वरिष्ठ प्रबन्धक कृष्णदास श्रेष्ठका अनुसार अडिट सुरुङ निर्माण पूरा भएपछि विभिन्न स्थानबाट मुख्य सुरुङ निर्माणलाई समानान्तर रूपमा अघि बढाइनेछ । यसबाट निर्माणको समय घटाउन र आयोजनाका विभिन्न संरचनामा एकैपटक काम गर्न सहज हुने अपेक्षा गरिएको छ ।

सात किलोमिटर सुरुङ, ५.६ किलोमिटर मुख्य सुरुङ

आयोजनामा कुल करिब सात किलोमिटर सुरुङ निर्माण हुने भएको छ । त्यसमध्ये मुख्य सुरुङको लम्बाइ पाँच किलोमिटर ६०० मिटर हुनेछ । बाँध, गाडपार, भालेबास र विद्युत्‌गृह क्षेत्रबाट अडिट सुरुङ निर्माण गरी मुख्य सुरुङमा पहुँच बनाउने योजना आयोजनाको छ ।

भालेबासमा निर्माण भइरहेको पहिलो अडिट सुरुङको लम्बाइ ४८५ मिटर छ । निर्माण सुरु भएको करिब तीन महिनामा १३० मिटर सुरुङ खनिसकिएको आयोजनाले जनाएको छ ।

त्यस्तै, घरापस्थित विद्युत्‌गृहबाट निर्माण हुने चौथो तथा अन्तिम अडिट सुरुङ १७० मिटर लामो हुनेछ । बाँध र गाडपार क्षेत्रबाट थप दुईवटा अडिट सुरुङ निर्माण गर्ने तयारी भइरहेको छ ।

आयोजनाका अनुसार अडिट सुरुङले मुख्य सुरुङ निर्माणका लागि पहुँच मात्र उपलब्ध गराउने छैन, सुरुङभित्रको भौगोलिक अवस्था पहिचान गर्न र निर्माण व्यवस्थापन गर्नसमेत सहयोग गर्नेछ ।

चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य

कालीगण्डकी ‘गर्ज’ आयोजना निर्माण सम्पन्न गर्न करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ। प्रवद्र्धक कम्पनीले आगामी चार वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

आयोजनाका निर्देशक रमण सिंहका अनुसार बर्खा सकिएपछि बाँध, मुख्य सुरुङ र विद्युत्‌गृह निर्माणलाई समानान्तर रूपमा अघि बढाइनेछ । त्यसका लागि आवश्यक जनशक्ति, निर्माण उपकरण र अन्य पूर्वाधार थप गर्ने तयारी भइरहेको छ ।

सिभिल निर्माणतर्फ एन्जेलिक इन्टरनेसनल र साउथ एसियन इन्फ्रास्ट्रक्चर परिचालन भइसकेका छन् ।

आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हुनेछ । आयोजनामा करिब एक किलोमिटर लामो पेनस्टक पाइपलाइन निर्माण गरिनेछ । विद्युत्‌गृहदेखि आउटलेटसम्मको उचाइ करिब ४८० मिटर रहेको आयोजनाले जनाएको छ ।

मुस्ताङमा बाँध, म्याग्दीमा विद्युत्‌गृह

आयोजनाको बाँध मुस्ताङको थासाङ गाउँपालिका–४ स्थित घाँसाको पहिरा थाप्लामा निर्माण गरिनेछ । त्यहाँबाट सुरुङमार्फत ल्याइएको पानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ घरापस्थित विद्युत्‌गृहमा खसालेर विद्युत् उत्पादन गरिनेछ । आयोजनास्थलसम्म पहुँचका लागि करिब आठ किलोमिटर सडक निर्माण भइसकेको छ । गाडपार क्षेत्रमा बेलिब्रिज जडानको तयारी भइरहेको छ ।

आयोजनाको निर्माणका लागि प्रवर्द्धक कम्पनी, निर्माण कम्पनी तथा नेपाली सेनाका कार्यालय, आवास र विस्फोटक पदार्थ भण्डारण भवनसमेत तयार भइसकेका छन् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न घरापदेखि दानासम्म करिब एक किलोमिटर लामो २२० केभी प्रसारण लाइन निर्माण गरिनेछ ।

यसका लागि आयोजना निर्माणसँगै प्रसारण पूर्वाधारलाई पनि अघि बढाउने योजना छ । उत्पादन सुरु भएपछि आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा जोडिनेछ ।

कालीगण्डकी करिडोरमा थपिँदै ठूला आयोजना

कालीगण्डकी ‘गर्ज’ निर्माणमा अघि बढेसँगै म्याग्दीको अन्नपूर्ण क्षेत्रमा जलविद्युत् विकासको विस्तार थप तीव्र हुने देखिएको छ । अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार कालीगण्डकी ‘गर्ज’ म्याग्दी जिल्लामा निर्माण भइरहेका तथा निर्माण सम्पन्न भएका आयोजनामध्ये ठूलो क्षमताको आयोजना हो ।

नारच्याङ क्षेत्रमा यसअघि नै १६२ मेगावाट क्षमताका पाँचवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । पाँच मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्तीखोला, ३८ मेगावाटको नीलगिरि–१, ७१ मेगावाटको नीलगिरि–२ र छ मेगावाटको रेलेखोला आयोजना सञ्चालनमा छन् ।

त्यसैगरी, नारच्याङको सीमाबाट बग्ने कालीगण्डकीमा ६६.३ मेगावाटको मध्य कालीगण्डकी आयोजना निर्माणाधीन अवस्थामा छ । ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी आयोजना पनि निर्माणको तयारीमा छ । यसरी एउटै क्षेत्रमा विभिन्न क्षमताका आयोजना थपिँदै जाँदा म्याग्दीको जलविद्युत् उत्पादन क्षमता बढ्नुका साथै स्थानीय पूर्वाधार, रोजगारी र आर्थिक गतिविधिमा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

बैंकको नेतृत्वमा लगानी

करिब ४० अर्ब रुपैयाँ लागत अनुमान गरिएको कालीगण्डकी ‘गर्ज’ आयोजनामा ग्लोबल आइएमई बैंकको नेतृत्वमा लक्ष्मी सनराइज, हिमालयन र प्रभु बैंकको लगानी रहनेछ ।

अडिट सुरुङ निर्माण सुरु भएसँगै आयोजनाको निर्माण चरण थप स्पष्ट रूपमा अघि बढेको प्रवर्द्धक कम्पनीको भनाइ छ । अब बाँध, सुरुङ र विद्युत्‌गृहका संरचनालाई एकैसाथ अघि बढाएर निर्धारित चार वर्षको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img