काठमाडौँ । लगानी बोर्ड नेपालले ६५७ मेगावाटका जलविद्युत् आयोजना निर्माण गर्न करिब साढे १ खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न बोर्डको ६० औं बैठकले ३४१ मेगावाटको बुढीगण्डकी, २१० मेगावाटको चैनपुर सेती र १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न लगानी स्वीकृत गरेको हो ।
जलविद्युत् प्रवद्र्धकले निर्माण प्रक्रिया अघि बढाएको यी आयोजनाहरुको विकासका लागि १ खर्ब ४१ अर्ब १३ करोड रुयैयाँ लगानी स्वीकृत भएको बोर्डले जानकारी दिएको छ । जसमा बुढीगण्डकीका लागि ७० अर्ब, चैनपुर सेतीका लागि ४७ अर्ब ५४ करोड र जगदुल्लाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ लगानी स्वीकृत भएको छ ।
यसैगरी बैठकले ३२७ मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी र सम्राट सिमेन्ट कम्पनी प्रालिको म्याद थप गरेको छ । ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता बढाएर ८०० मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ ।