काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरणले ट्रंक एण्ड डेडिकेटड लाइन प्रयोग गरेवापतको बाँकी बक्यौता उद्योगीहरू लगानी रहेकाे जलविद्युत् तथा सौर्य आयोजनाको विद्युत् खरिद बिक्री (पीपीए) को भुक्तानी काटेर असुल गर्ने निर्णय पीपीएको सम्झौता विपरीत रहेको जनाइएको छ । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान)ले प्राधिकरणको यो निर्णय सम्झौताको प्रावधान विपरीत रहेको जनाएकाे छ ।
सोपानले प्राधिकरणले विभिन्न ऊर्जा उत्पादक कम्पनीलाई पठाएको पत्र प्राधिकरण र ऊर्जा उत्पादक कम्पनीहरूबीच भएको विद्युत बिक्री सम्झौताको प्रावधान विपरित रहेको भन्दै आपत्ति जनाएको हो । प्राधिकरणले बुधबार पत्र लेखेर पीपीएको भुक्तानी रोकेर बक्यौता उठाउने भन्दै पियोर इनर्जी लिमिटेडलाई पत्र पठाएको थियो ।
केवल साझा सेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नु पर्ने बक्यौता रकमको दायित्व बिल्कुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानूनको स्थापित सिद्धान्त विपरित हुन्छ’ सोपानद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
‘ऊर्जा कम्पनीहरूमा सर्वसाधारणहरू लगायत अन्य कैयन सेयरधनीहरूको लगानी रहेको हुन्छ । यस सन्दर्भमा बक्यौता असुलउपर गर्नाले सम्पूर्ण सेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्न जान्छ । ऊर्जा कम्पनीहरूको मुख्य आय आर्जनको स्रोत भनेको नै प्राधिकरणलाई विद्युत बिक्री गरी प्राप्त हुने रकम भएको हुँदा सो रकम कट्टा भएमा कम्पनीद्वारा सञ्चालित परियोजनाको सम्भाव्यतामा नै ठूलो असर पर्न जाने सोपानले जानकारी दिएको छ ।
विदेशी लगानी समेत प्रचुर मात्रामा रहेको ऊर्जा क्षेत्रमा प्राधिकरणको यस्तो कदमले नकारात्मक असर पार्ने प्रष्ट भएको सोपानको भनाइ छ । यसले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्यमासमेत गम्भीर असर पर्न जाने सोपानको चेतावनी छ ।
बक्यौता रहेका उद्योग/कम्पनीहरूको रकम फरक अस्तित्व रहेका ऊर्जा कम्पनीहरूबाट असुलउपर गर्न नमिल्ने र यसो गर्नाले कैयन सेयरधनीकाे हकमा आघात पर्ने हुँदा एवं ऊर्जा कम्पनीहरूको सम्भाव्यतामा नै असर समेत गर्ने हुँदा सो सम्बन्धी कुनै कार्य नगर्नु हुन साेपानले अनुरोध गरेकाे छ ।