काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो पावरद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको काम ७२ प्रतिशत पूरा भएको छ । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडामा निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको बाँकी काम आगामी २०८२ असारभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले बताए । उनका अनुसार आयोजनाको भौतिक संरचना निर्माण र उपकरण जडानको कामलाई तिव्रता दिइएको छ ।
‘बाँधमा ब्यारेज, ६ हजार २७० मिटर लामो मुख्य सुरूङ, सर्जसाफ्ट, ठाडो र तेस्रो प्रेसर साफ्ट र टेलरेस डग निर्माण सकिएको छ’, उनले भने, ‘स्विचार्ड निर्माण र विद्युत्गृहका उपकरण जडान गर्न थालिएको छ । डिसेन्डर (पानी थिग्राउने पोखरी), पावर इन्टेक, मुख्य सुरूङलाई फिनिसिङ गर्ने र पेनस्टक पाइपलाइन जडानको काम धमाधम भइरहेको छ ।’
मुख्य सुरूङको ४ अडिटबाट शुक्रबारसम्म २ हजार २४३ मिटर लाइनिङ (ढलान र प्लास्टर) सकिएको कट्टेलले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ नम्बर वडा झिँको सिमानामा १७ मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँध र तिल्केनीचौरमा विद्युतगृह निर्माणाधीन छ ।
सिभिलतर्फ ७२ र इलेक्ट्रोमेकानिकलतर्फ ३० प्रतिशत प्रगति भएको आयोजनाको सिभिल ठेकेदारसँग २०७४ मङ्सिर महिनामा ठेक्का सम्झौता भएको थियो । ठेक्काको ४५ महिनाको अवधिमा कोरोना महामारी, बाढी र पहिरोका कारण काम सम्पन्न हुन नसकेपछि ३० महिना म्याद थपिएको छ ।
कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार आइभिआरसिएलसँगको ठेक्का तोडेर कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (इपिसी) प्रारूपमा राहुघाट जलविद्युत् आयोजना निर्माण अघि बढाइएको थियो । पहिलो कार्यतालिका र सम्झौताअनुसार आयोजना २०७० मा सकिनुपर्ने थियो ।
पहिले ३२ मेगावाटमा डिजाइन गरिएकोमा पछि ८ मेगावाट बढाएर ४० मेगावाट पु¥याइएको हो । बेनी–जोमसोम–कोरला सडकको घुमाउनेतालदेखि ११ किलोमिटर पहुँचमार्ग र एक वटा ट्रस प्रविधिको मोटर चल्ने पुल निर्माण गरी विद्युतगृह र बाँधलाई सीधा सडकले जोडिएको छ ।
राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरिडोरअन्तर्गत दुई सय २० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो (लुप इन, लुप आउट) माध्यमबाट जोडिने छ । ४ टावर र प्रसारण लाइन पनि बनिसकेको छ ।
भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्सले बाँध, सुरूङ र विद्युतगृह निर्माणको कामलाई तीव्रता दिएको छ ।