Monday, September 21, 2026
spot_img

माथिल्लो त्रिशूली–१ मा बाढीपछि खोज तथा उद्धार जारी, ४३९ जना अझै सम्पर्कविहीन

spot_img

Share

spot_img

काठमाडाैँ । रसुवा जिल्लास्थित भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत स्वदेशी तथा विदेशी नागरिकको खोज तथा उद्धार कार्यलाई प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले निरन्तरता दिएको छ ।

कम्पनीका अनुसार बाढीपछि आयोजनास्थलमा कार्यरत करिब १ हजार ४ सय ३३ जनामध्ये हालसम्म ८७७ जनाको सकुशल उद्धार गरिएको छ भने ७८ जना सम्पर्कमा आएका छन् । त्यस्तै, ३९ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४३९ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।

बाढीबाट आयोजनाको बाँधस्थलदेखि मुख्य सुरुङतर्फ जाने सडकमा ठूलो क्षति पुगेको छ। सडक तथा यातायातमा भएको अवरोधका कारण आयोजनास्थलसम्म पुग्न कठिनाइ भइरहेको कम्पनीको भनाइ छ ।

सुरक्षाकर्मी र उद्धार टोलीको संयुक्त खोजी

बाढी आएदेखि नै आयोजना साइट कार्यालय तथा निर्माणस्थलमा कार्यरत व्यक्तिहरूको खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कोरियाली विज्ञ तथा आयोजनाको टोलीको सहभागितामा संयुक्त उद्धार कार्य सञ्चालन भइरहेको छ ।

भूमिगत संरचनाभित्र फसेका हुन सक्ने व्यक्तिको खोजी गर्नुका साथै बाहिरी सतह, भीर, गाउँ तथा अन्य सम्भावित क्षेत्रमा समेत खोजी कार्यलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ । उद्धार कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त खोजी कुकुरसहितको टोली, पर्वतारोही उद्धार टोली र अन्य दक्ष जनशक्ति परिचालन गरिएको छ ।

आयोजनाका सुरुङ, भूमिगत विद्युत् गृह तथा अन्य भौतिक संरचनामा कार्यरत व्यक्तिहरू फसेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै भग्नावशेष तथा लेदो हटाउने, सम्भावित खोजी क्षेत्र पहिचान गर्ने र उद्धार कार्यलाई सहज बनाउने काम भइरहेको छ ।

हेलिकोप्टरमार्फत उपकरण र मेसिन परिचालन

बाढीका कारण आयोजनास्थलसम्म पुग्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएपछि हेलिकोप्टरमार्फत दुईवटा मिनी एक्स्काभेटर ढुवानी गरी उत्खनन, खोजी तथा उद्धार कार्यमा परिचालन गरिएको छ ।

सुरुङभित्र जमेको भग्नावशेष हटाउन तथा फलामका रड काट्न आवश्यक पर्ने विद्युत्‌का लागि जेनेरेटर र ग्यास–कटिङ उपकरणसमेत हेलिकोप्टरमार्फत आयोजनास्थलमा पुर्‍याइएको कम्पनीले जनाएको छ ।

मुख्य सुरुङ निर्माणका लागि बनाइएको पहुँच सुरुङ (अडिट)–३ को माथिल्लो तटीय क्षेत्रमा जमेको लेदो तथा ढुंगामाटो एक्स्काभेटरको प्रयोगबाट हटाउने काम भइरहेको छ । खोजी तथा उद्धारका लागि आवश्यक एक्स्काभेटर, मिनी एक्स्काभेटरलगायतका उपकरणसमेत हेलिकोप्टरमार्फत परिचालन गरिएको छ ।

मृतकका परिवारलाई सहयोग र नियमित समन्वय

कम्पनीले आयोजनास्थलबाट निकालिएका शवहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोट जिल्लाको विदुरस्थित नेपाली सेनाको क्याम्पमा ल्याई मृतकको परिवार तथा आफन्तलाई शव सनाखतका लागि आवश्यक समन्वय र सहजीकरण गरिरहेको जनाएको छ ।

मृतकका परिवारलाई आफ्नो संस्कृति, रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न सहयोग पुर्‍याउने उद्देश्यले प्रारम्भिक राहतस्वरूप काजक्रिया खर्च उपलब्ध गराउने कार्यसमेत भइरहेको छ ।

सम्पर्कविहीन व्यक्तिका परिवारसँग नियमित सम्पर्क तथा सूचना समन्वय कायम राखिएको कम्पनीले जनाएको छ। परिवारबाट प्राप्त सूचना, सकुशल उद्धार गरिएका कर्मचारीबाट प्राप्त विवरण तथा अन्य विश्वसनीय स्रोतका आधारमा सम्भावित खोजी क्षेत्र पहिचान गरी उद्धार टोलीलाई आवश्यक सूचना उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

सरकारी निकायसँग समन्वयलाई प्राथमिकता

खोज तथा उद्धार अभियानलाई प्रभावकारी बनाउन कम्पनीले सरकारद्वारा गठित वार रुम बैठक, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र विद्युत् विकाससम्बन्धी निकायमा नियमित सहभागिता जनाउँदै आयोजनाको अवस्था, उद्धार कार्यको प्रगति, देखिएका चुनौती तथा आवश्यकताबारे जानकारी गराउँदै आएको छ ।

कम्पनीले सरकारी निकाय, सुरक्षा संगठन, प्राविधिक विज्ञ, उद्धार टोली, स्थानीय समुदाय तथा अन्य सहयोगी पक्षसँगको समन्वय र सहकार्यलाई उच्च प्राथमिकताका साथ निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

सम्पर्कविहीन व्यक्तिहरूको खोजी तथा उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन, प्रविधि तथा जनशक्तिको अधिकतम परिचालन गर्दै सम्बन्धित निकाय र सरोकारवालासँगको समन्वयलाई थप सुदृढ बनाउने कम्पनीको भनाइ छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img