काठमाडाैँ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका क्रममा मृत्यु भएका व्यक्तिका शव सनाखत गर्न जिल्ला प्रहरी कार्यालय नुवाकोटले परिवार तथा आफन्तजनलाई अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बाढीका कारण रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ (हाकु) मा रहेको २१६ मेगावाट क्षमताको माथिल्लाे त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट २०८३ साल असोज १ र २ गते गरी जम्मा २४ वटा शव निकालिएको थियो ।
निकालिएका शवलाई असोज ३ गते दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बावासको परिसरमा ल्याइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार शवको सनाखत तथा सम्बन्धित परिवार र आफन्तजनलाई बुझाउने कार्यमा सहयोग गर्न अनुरोध गरिएको हो । शवको पहिचान तथा व्यवस्थापनका लागि आवश्यक समन्वय गर्न प्रहरी निरीक्षक आशिष साहलाई सम्पर्क गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले मृतकका परिवार तथा आफन्तजनलाई शव सनाखतसम्बन्धी कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।











