काठमाडौँ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माण अघि बढेको १०६ मेगावाटको जगदुल्ला जलविद्युत् आयोजनाको ठेक्का रद्द भएको छ । जगदुल्ला जलविद्युत् कम्पनी लिमिटेडले निकालेको सिभिल तथा हाइड्रो मेकानिकलतर्फको ठेक्का रद्दभएको हो ।
कम्पनीले गत जेठ २० गते ठेक्का खुल्ला गरेको थियो । जसमा आवेदन दिएका सबै कम्पनीहरू प्राविधिक प्रस्तावमा पास हुन नसकेपछि ठेक्का रद्द गरिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले अनुसार लट २ अन्तर्गतको सिभिल तथा हाइड्रो मेकानिकलको काम गर्नका लागि ७ कम्पनीले आवेदन दिएका थिए । मूल्यांकन गर्ने क्रममा सबै कम्पनी प्राविधिक प्रस्तावमा पास हुन नसकेपछि ठेक्का रद्ध गरिएको हो ।
आयोजनाको विवरण
आयोजना डोल्पाको जगदुल्ला र मुड्केचुला भएर बग्ने जगदुल्ला नदीमा निर्माण प्रस्ताव गरिएको छ । यसको बाँध जगदुल्ला–२ हुरिकोटमा निर्माण हुनेछ । ६.२ किलोमिटर सुरुङमार्ग निर्माण गर्नुपर्छ । आयोजना पिकिङ रन अफ दि रिभर (आंशिक जलाशय) प्रकृतिको हुनेछ ।
अहिले आयोजनाको संरचना निर्माण गर्नु अघिको काम भइरहेको छ । आयोजना स्थलसम्म पुग्ने पहुँच सडक बनिरहेको छ । यो आयोजनाको मुख्य संरचनाहरू नदीको बायाँ किनारामा पर्दछन् । आयोजनाको ६१३९ मिटर लामो हेडरेस सुरुङ, १४ं६ मिटर लामो प्रसर स्टाफर्मात पानीलाई भूमिगत विद्युत्गृहमा पुर्याइनेछ । विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछ । उत्पादित विद्युत् ५० किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको बाफिकोट सबस्टेसनमा जोडिनेछ ।
आयोजनाको काम २०८६ भित्र पूरा गर्ने लक्ष्य छ । आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ । वर्षायाममा ४३०.२३ गिगावाट घन्टा र हिउँदयाममा १९२.२४ गिगावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।
प्रस्तावित जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन र विस्तृत अध्ययन भइसकेको छ । यो आयोजना याप्राधिकरण मातहतको एनईए इन्जिनियरिङ कम्पनीले अध्ययन गरेको हो ।
आयोजनाको लगानी
कम्पनीले आयोजना निर्माणका लागि गत जेठ २ गते मात्रै वित्तिय व्यवस्थापन गरेको थियो । सम्झौताअनुसार आयोजनामा आयोजनामा नबिल बैंकको अगुवाईमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसीएल), कर्मचारी सञ्चय कोष, लक्ष्मी सनराइज बैंक र एभरेष्ट बैंकले लगानी गर्ने टुंगो लागेको छ ।
नबिल बैंकले ४ अर्ब ४० करोड, एचआइडिसीएलले ४ अर्ब, कर्मचारी सञ्चय कोषले ४ अर्ब, लक्ष्मी सनराइजले २ अर्ब र एभरेष्ट बैंकले १ अर्ब ५० करोड रुपैयाँ लगानी गर्नेछन् । आयोजना निर्माण सम्पन्न गर्न २३ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । जसमा १६ अर्ब रुपैयाँ ऋण र बाँकी ७ अर्ब रुपैयाँ स्वपुँजी लगानी रहनेछ ।
पिपिए
आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भइसकेको छ । कम्पनी र नेपाल विद्युत प्राधिकरणबीच अघिल्लो २०८० बैशाख २८ गते पिपिए भएको हो । सम्झौताअनुसार प्राधिकरणले हिउँदको ६ महिनामा प्रतियुनिट ८.४० रुपैयाँ र पिक आवरमा उत्पादित विद्युत् प्रतियुनिट १०.५५ रुपैयाँमा खरिद गर्नेछ । बर्खायाममा प्रतियुनिट ४.८० रुपैयाँका दरले खरिद गर्ने कम्पनीले जनाएको छ ।
उत्पादन अनुमति
कम्पनीले विद्युत् विकास विभागबाट पुस २३ गते अनुमति पत्र पाएको हो । पुस २३ गते सबेको ऊर्जा सचिवस्तरीय बैंठकको निर्णयअनुसार २११७ पुस २४ गतेसम्म बहाल रहने गरी उत्पादन अनुमति पाएको हो ।
यो आयोजनाबाट निर्माण थालेको ५ वर्षमा उत्पादन गर्ने लक्ष्य छ । डोल्पामा बन्ने यो आयोजना कर्णालीको विकासका लागि समेत महत्वपूर्ण रहेको छ । कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ । जुन जगदुल्ला जलविद्युत् आयोजनाको क्यासकेड हुनेछ । यो आयोजनाको पनि कम्पनीले अध्ययन गरिरहेको छ ।
जगदुल्लाको ठेक्का प्रक्रियालाई लिएर उर्जामन्त्री र कम्पनीको चरित्रहत्या गर्न खोजियो’
कम्पनीले जगदुल्ला अर्ध जलाशययुक्त आयोजना (१०६ मेगावाट) को निर्माण कार्यको बोलपत्र आह्वानको प्रक्रियालाई लिएर उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र आफ्नो कम्पनीको चरित्रहत्या गर्न खोजिएको बताइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत संजय सापकोटाले आज एक विज्ञप्ती जारी गरी जगदुल्ला हाइड्रो पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको जगदुल्ला जलविद्युत आयोजनाको निर्माण कार्यको बोलपत्र आह्वानको विषयलाई लिएर केही सञ्चार माध्यामले आफ्नो कम्पनी र उर्जामन्त्रीको चरित्रहत्या गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
“यस जगदुल्ला जलविद्युत आयोजना निर्माण प्रवर्द्धनका लागि अन्तर्राष्ट्रियस्तरको ठेक्का आह्वान गर्नुपर्ने र उक्त स्तरको ठेक्का मूल्याङ्कन गर्नुपर्ने कार्य आँफैमा संवेदनशील विषय हो, ठेक्का मूल्याङ्कन क्रममा सार्वजनिक खरीद ऐन, कम्पनीको खरीद विनियमावली र स्टाण्र्डर विडिङ डकुमेन्टका आधारमा प्राप्त बोलपत्रहरुको मूल्याङ्न गरिएको अवस्था हो, उक्त ठेक्का प्रक्रियामा बोलपत्र दाखिला गर्ने बोलपत्रदाताहरुको बोलपत्र प्राविधिक रुपमा असफल भएकाले ठेक्का रद्द गरिएको स्पष्ट पार्न चाहन्छौँ,”–कम्पनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
जगदुल्लाले आफ्नो कम्पनीको विषयसँग जोडेर माननीय मन्त्रीज्यूको चरित्रहत्या गर्ने निहित उदेश्यका साथ विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथ्यहिन, अनर्गल एवं कपोलकल्पित समाचारप्रति गम्भीर आपत्ती जनाएको छ । “यस कम्पनीको सञ्चालक समितिमा मन्त्रीज्यू संलग्न हुने कुनै कानूनी व्यवस्था छैन, साथै, मन्त्रालय र माननीय मन्त्रीज्यूको निर्देशन तथा सुझाव लिनुपर्ने बाध्यात्मक व्यवस्था समेत छैन, यस कम्पनीले आह्वान गरेको ठेक्का प्रक्रियामा माननीय मन्त्रीज्यूले कुनै चासो राख्नुभएको वा कुनै निर्देशन दिनुभएको छैन,”– विज्ञप्तीमा भनिएको छ ।
कम्पनीले यस्ता प्रकारका तथ्यहिन एवम् भ्रामक समाचारले यस कम्पनी र माननीय मन्त्रीज्यू एवम् मन्त्रालय जस्तो गरिमामय संस्थाको बदनामी गराउने र आम नागरिकमा भ्रम सिर्जना गर्ने कार्य गर्ने र कालान्तरमा मन्त्रालयजस्तो गरिमामय संस्थाको गरिमा घटाउने, आपसमा द्धन्द्ध सिर्जना गराउने र आपसी विश्वासको वातावरण विथोल्ने जस्ता कार्यहरुमात्र हुने हुँदा मुलुकलाई नै नोक्सान पुग्ने अवस्था रहने बताइएको छ ।
अहिलेको तरल अवस्थामा आमसञ्चार माध्यमको भूमिका आपसी विश्वास, सद्भाव र सहकार्यलाई जोड दिने प्रकृतिको हुनुपर्ने कम्पनीले जनाएको छ । “सञ्चार माध्यमले पत्रकारिताको न्यूनतम मर्यादा तथा आचारसंहितालाई समेत भुलेर सम्प्रेषण गरेको समाचारले हामीलाई दुःखित तुल्याएको छ, प्रकाशित सामाग्रीको सत्यतथ्य जाँच नगरी समाचार प्रकाशन गर्नु निकै दुर्भाग्यपूर्ण छ,”– विज्ञप्तीमा भनिएको छ ।
याे पनि पढ्नुहाेस्: जगदुल्ला जलविद्युत् आयोजना निर्माण गर्न ग्लोबल टेण्डर आह्वान